सुर्खेत : सामाजिक संजालले नकारात्मक पक्षलाई बढी जोड दिँदा समाजमा बिखण्ड, उत्शंखलाता बढेको छ । त्यसैले अवका मिडियाले सकारात्मक पक्षलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले आयोजना गरेको लोकतन्त्र र प्रेस स्वतन्त्रता विषय अन्तर सम्वाद कार्यक्रममा अवका मिडियाले विकास र सकारात्मक पक्षलाई प्राथमिकता दिनुपर्ने जनाइएको हो । अन्तरसम्वादमा बोल्ने वक्ताहरुले सामाजिक संजालले सूचना दिएपनि नियमन नहुँदा स्वच्छदन्ता मौलाइरहेको र मूलधारका मिडियापनि आफ्नो जिम्मेवारीमा पछि परेको उल्लेख गरिएको छ । मिडियालाई दिगो बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले कानुन बनाउनुपर्ने, अनुदान तथा सहुलियतको व्यवस्था गर्नुपर्ने जनाइएको छ । स्कुल र टिआरपी बढाउने नाममा जनतालाई भ्रममा पार्न खोजिएको हुँदा सत्यतथ्यमा आधारित भएर मिडिया संचालन हुनुपर्ने बताइएको छ ।
सो अवसरमा प्रेस युनियन सुर्खेतका संस्थापक एवं प्रेस स्वतन्त्र सेनानी पीताम्बर ढकाल, बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, राजनीतिक विश्लेषक डा.अर्जुनबहादुर अयडी र मप विश्वविद्यालयका आमसंचार तथा पत्रकारिताका उपप्राध्यापक केशवी जोशीले पत्रकारिता सामाजिक उत्तदायित्व बोकेको क्षेत्र भएकोले जिम्मेवारी बन्नुपर्ने, मिडियाले नकारात्मक भन्दा सकारात्मक र विकास समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड बताएका छन । उनीहरुले मिडियाले आफ्नो धरातल, सत्य र तथ्यलाई विर्सन नहुने भन्दै विगतको तुलनामा अहिले जिम्मेवारीको दायरा फराकिलो भएको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्मा, काँग्रेस सुर्खेतका पूर्वसभापति कमलराज रेग्मीलगायतले सामाजिक संजाललाई नियमन गरी मूलधारका मिडिया थप जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए ।
दुई पत्रकार पुरस्कृत
यसैगरी सोही अवसरमा सुर्खेतका दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष एवं गोरखापत्रका कर्णाली प्रदेश संयोजक ललित बसेल र पत्रकार कलेन्द्र सेजुवाललाई प्रेस युनियन सक्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । मङ्गलवार आयोजित कार्यक्रममा बसेल र सेजुवाललाई जनही नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
नेपाली काँग्रेस सुर्खेतका सभापति एवं कर्णाली प्रदेशसभा सदस्य खड्कबहादुर पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त, युनियनका सुर्खेत अध्यक्ष मधुवन विसी र पुरस्कारका अक्षयकोषदाता चिन्तामणि कँडेलको उपस्थितिमा प्रदेश संयोजक बसेललाई पुरस्कृत गरिएको हो । पत्रकारिताको माध्यमबाट सुर्खेतको विकास र समृद्धिमा पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको युनियन सुर्खेतले जनाएको छ । सो अवसरमा कर्णाली प्रदेशसभा सदस्य खड्कबहादुर पोखरेलले पत्रकारहरुलाई तटस्थ, सत्य र तथ्यमा रहेर कलम चलाउन सुझाव दिए । सङ्क्रमणकालीन अवस्थामा प्रेसको भूमिका निकै महत्वपूर्ण हुने भन्दै उनले पत्रकारिता पेशालाई थप जिम्मेवार बनाउन जरुरी रहेको उल्लेख गरे। साथै पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
रक्तदान
यसैगरी सोही अवसरमा नेपाल प्रेस युनियन कर्णाली प्रदेश समितिले रक्तदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा युनियनका प्रदेश अध्यक्ष नरेशसिंह थापा, उपाध्यक्ष रमेश शाही, युनियन सुर्खेतका अध्यक्ष मधुवन विसी, ललित बसेल, भावना रानालगायतले रक्तदान गरेका थिए । १२ पिन्ट रगत संकलन भएको जनाइएको छ ।



Post a Comment