सुर्खेत : हुम्लाको नाम्खा गाउँपालिका(६ को तिलगाउँमा आएको हिमपहिरोले विस्थापित भएकाहरूलाई कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ । हिमपहिरो गएको एक सातापछि बिहीबार प्रदेश सरकारले राहत सामग्री पठाएको हो ।
जेठ १ गते राति साढे १० बजेतिर दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन् । वडाध्यक्ष पाल्जोर लामाका अनुसार २१ परिवारका ३३ जना त्रिपालमा बसिरहेका छन् । हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ ।
५ सेट टेन्ट (अस्थायी घर) २० क्विन्टल खाद्यान्न , १८ सेट सोलार र म्याट्रेस सेटलगायतका राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाको मागबमोजिम राहत पठाइएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । यस्तै तिलगाउँको बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहीवार हुम्लाबाट तिल गाउँको लागि प्रस्थान गरेको छ । टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् ।
वडाध्यक्ष लामाका अनुसार हिमपहिरोले तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ ।

Post a Comment