डोल्पा : डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्चा पाटन खुला गरिने निर्णय गरिएको छ । दुनैमा आइतबार बसेको सर्वपक्षीय बैठकले यार्चागुम्बा संकलनका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन जेठ ५ गतेदेखि खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । बैठकबाट यार्चा संकलन खुला गर्ने मिति तोक्नुका साथै पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिने उनले बताए । यस वर्ष यार्चा संकलनलाई व्यवस्थित बनाउन ११ बुँदेमा निर्णय भएको छ । लोप हुँदै गएको बहुमूल्य जडीबुटी यार्चागुम्बा संरक्षणका लागि पाटन क्षेत्रमा फोहोर संकलन गर्ने व्यक्ति वा समूहलाई नगदसहित पुरस्कृत गर्न सम्बन्धित समिति र स्थानीय तहसँग सहकार्य गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार पाटन क्षेत्रको गस्तीका लागि निकुञ्ज कर्मचारी र सेना परिचालन भइसकेकाले तोकिएको मितिअगावै पाटन क्षेत्र पुग्नेलाई कारबाही गरिने छ ।
गत शुक्रबार मात्रै लुकिछिपी पाटन पुगेका १४ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको निुकञ्ज कार्यालयले जनाएको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा हजारौं सर्वसाधारण यार्चाको खोजीका लागि पुग्ने गर्छन् । यार्चा टिप्न पाटन जान तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था निकुञ्जको नियमावलीमा गरिएको छ । जस अनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रकालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार शुल्क तोकिएको छ । डिभिजन वन क्षेत्रमा पर्ने कतिपय सामुदायिक वन उपभोक्ता समितिले भने आफूअनुकूल यार्चा पाटन खुला गर्ने गरेका छन् । यार्चा पाटन खुला गर्ने विषयमा मितिसहित तोकेर निर्णय भइसकेकाले वन क्षेत्रका पाटन पनि जेठ ५ गते नै खोल्नुपर्ने डिभिजन वन अधिकृत मुन रावतले जानकारी दिए । डोल्पामा यार्चाको व्यावसायिक संकलन सुरु २०४० सालदेखि भएको हो ।

Post a Comment