जाजरकोट : जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगको प्रकोपले दुई सयभन्दा बढी भेडा मरेका छन् । भेडा एकपछि अर्को गर्दै मर्न थालेपछि किसान चिन्तित र निराश बनेका छन् । रोग पत्ता नलाग्दा उपचार सम्भव नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
वडाध्यक्ष रामबहादुर सिंहका अनुसार उपचारमा स्थानीय पशु स्वास्थ्यकर्मीहरू खटिएका छन् । ‘पखाला लाग्ने र धमाधम मर्ने गर्छन्, अहिले हामी जनप्रतिनिधि र स्थानीय पशु स्वास्थ्यकर्मी उपचारमा खटिएका छौँ, उनले भने तर मर्ने दर भने रोकिएको छैन, अधिकांश किसानका भेडा मरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल उपाध्यायले भेडाको स्वाब, रगत, आद्राको भाग सुर्खेत ल्याबमा पठाएको बताए । रिपोर्ट नआउन्जेल कसरी कुन रोगको उपचार गर्ने भन्ने समस्या भएको प्रमुख उपाध्यायले बताए । उपचारमा खटिएका एक पशु स्वास्थ्यकर्मीले भने, यहाँ पर्याप्त औषधी पनि छैन, जिल्ला बाट खासै चासो दिएको देखिदैन्, हामीले मात्रै उपचार सम्भव पनि छैन ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयले केही दिन अघि डाक्टर सहितको टोली पठाएर स्वाब सङ्कलन गरे पनि त्यसपछि जनशक्ति खटाएको देखिदैन् । भेडा मर्न थालेपछि किसानहरूमा निराशा छाएको छ । कृषिमा निर्भर स्थानीय किसानका लागि भेडा आम्दानीको मुख्य स्रोत हो । सयौँको सङ्ख्यामा भेडा मरेपछि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ ।

Post a Comment