नेपाल विद्युत प्राधिकरणले काट्यो वीरेन्द्रनगर सडकका वत्ती

सुर्खेत : नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले वीरेन्द्रनगर नगरपालिकाको सडकका वत्तीहरु काटेको छ । नगरपालिकाले सडक बत्तीको वक्यौता रकम नदिएको भन्दै प्राधिकरणले सडक बत्तीको लाइन काट्न शुरु गरेको छ । मंगलवारदेखि विद्युतका सवै कर्मचारीहरु प्रत्येक वडा वडामा खटाएर सडक वत्तीको लाइन काट्न सुरु गरेको हो । 

वीरेन्द्रनगर नगरपालिका वडा नं.४, ८ लगायतका मुख्य सडकका पोलहरुका ब्लब निकालिएको छ । रातीको समयमा उज्यालो हुने सडकहरु प्राधिकरणले लाइन काटेर व्लब लिएपछि अँध्यारो भएको छ । अँध्यारोमा चोरी डकैतीलगायत आपराधिक घटनाहरु बढ्ने सम्भावना समेत देखिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं.४ का वडाअध्यक्ष शेरबहादुर केसीले हटलाइन सडकका विद्युत पोलमा लगाइएका व्लबहरु झिकेर विद्युत प्राधिकरणले लिएको बताए । उनले चार÷पाँच जना कर्मचारीहरु खटाएर पोलबाट धमाधम व्लब झिकेको र आफूलाई माथिको आदेश भन्दै उनीहरुले व्लब लिएको जनाए। सडक पोलमा ब्लब भने वडाको बजेटमा हालिएको थियो । लाइन काटिएको वारेमा नगरपालिकालाई जानकारी गराइसकिएको उनको भनाइ छ । 

यस्तै वडा नं.८ का वडाअध्यक्ष टिकाराम शर्माले पनि विद्युतले सडक पोलका व्लबहरु लिएको बताए । उनले कार्यालय तहबाट यस सम्वन्धी समस्याको समाधान गर्नुपर्नेमा सडक पोलका लाइन काटेर सडक अँध्यारो बनाउन नहुने उल्लेख गरेका छन । सडक अँध्यारो भए अपराधिक घटनाहरुको जोखिम भएको भन्दै तत्काल कार्यालय तहबाट समाधान खोज्न उनले आग्रह गरेका । 

विद्युत प्राधिकरणले भने बक्यौता तिर्न पटक–पटक ताकेता गर्दा पनि नगरपालिकाले कुनै वास्ता नगरेपछि बाध्य भएर सडक बत्तीको लाइन काट्नुपरेको जनाएको छ । सुर्खेत प्राधिकरण प्रमुख अशोक लोहनीले २०७३ साल यताको सडक बत्तीको बक्यौता तिर्न बारम्बार आग्रह गर्दापनि नतिरेपछि लाइन काट्नुपरेको बताए। उनका अनुसार सडक वत्ती बालेपात नगरपालिकाले पाँच करोड ३० लाख बक्यौता तिर्न बाँकी छ । 

उनले आफू असोजको महिना सुरुवा भएर सुर्खेत आएलगत्तै बक्यौता तिर्न नगरपालिकालाई पत्राचार गरेको बताए । दुई÷दुई पटक पत्राचार गर्दा पनि केही सुनुवाई नभएपछि मंगलवारदेखि सडक बत्तीको लाइन काट्न शुरु गरिएको उनको भनाइ छ । पहिलो चरणमा मिटर जडान नगरेर बालिएका सडक बत्तीको लाइन काट्न शुरु गरिएको भन्दै उनले यो प्रक्रिया निरन्तर चल्ने जानकारी दिए । नगरपालिकाले बक्यौता रकम नतिरेसम्म नगरका सवै सडक बत्तीहरुको लाइन काटिने उनको भनाई छ । 

सडक बत्ती मात्रै नभएर बक्यौता रकम नबुझाउने १७ सय ग्राहकको पनि लाइन काटिएको छ । ती ग्राहकबाट पाँच करोड बढी रकम बक्यौता छ । 

यता वीरेन्द्रनगर नगरपालिकाले बक्यौता रकम दिने दायित्व नगरपालिकाको नभएको भन्दै पन्छिएको छ । नगरपालिकाले सडक विद्युतको बक्यौताका वारेमा नगरसभाबाट निर्णय गरेर अगाडि बढ्ने जनाएको छ । नगर उपप्रमुख निलकण्ठ खनालले प्राधिकरणको बक्यौता आगामी नगरसभाबाट निर्णय गरिने जनाए । यद्यपि उनले विद्युतलाई पनि पोलको भाडा दिनुपर्ने बताए । विद्युत प्राधिकरणले पनि नगरभित्र विद्युत पोलको भाडा नगरपालिकालाई दिनुपर्ने भन्दै बक्यौता रकमको दायित्व नगरपालिकाको नहुने दावी गरेका छन।

Post a Comment

Previous Post Next Post