प्रदेश अस्पतालका आठ उपलव्धीहरु सार्वजनिक

 सुर्खेत : कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले आफूले ८ वर्ष नेतृत्व गरेको प्रदेश अस्पतालका आठ वटा उपलव्धीहरु सार्वजनिक गर्नुभएको छ । प्रदेश अस्पतालको १८ औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतवार पत्रकार सम्मेलन गरी निर्देशक डा। खड्काले आठ वर्ष, आठ उपलव्धी सार्वजनिक गरेका हुन । 

साविक मप क्षेत्रीय अस्पताललाई संघीयतापछि २०७५ साल कात्तिक १३ गते प्रदेश सरकारले प्रदेश अस्पतालमा रुपान्तरण गरेको थियो । उनले नेतृत्वको आठ वर्षको अवधिमा भौतिक पूर्वाधारमा फड्को, जनशक्ति तेब्बर, अत्याधुनिक स्वास्थ्य उपकरण र सेवा विस्तार र सुधारमा उल्लेख्य उपलव्धी हासिल गरेको उल्लेख गरेका छन । यसैगरी उच्चस्तरीय स्वास्थ्य सेवा, कोरोनासँग साहसिक लडाईँ, समन्वय—सहकार्य मूलमन्त्र र सेवाग्राहीको विश्वास आर्जनलाई पनि प्रदेश अस्पतालको थप उपलव्धी भएको जानकारी दिए।

सेवा प्रवाह अन्त्य दयनीय, भौतिक अवस्था जीर्ण भएको प्रदेश अस्पतालमा आफू नेतृत्वमा आएपछि सेवा सुविधा तथा संरचनामा व्यापक सुधार गरेको उनले बताए । प्रदेश अस्पतालको सेवा प्रवाहमा देशकै अव्वल रहनुमा आफूसहित सम्पूर्ण स्वास्थ्यकर्मी, संघीय सरकार, प्रदेश सरकारलगायत सवै पक्षको योगदानको उनले स्मरण गरेका छन । सेवा अवधिको उत्तरार्धमा आइरहँदा प्रदेश अस्पतालमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै निर्देशक डा.खड्काले अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने योजना रहेको सुनाए । 

कर्णालीमा आउन नमान्ने जनशक्तिलाई अहिले यहीँ बस्ने वातावरणको विकास गराएको, प्रदेश अस्पताललाई अध्ययन अनुसन्धानको केन्द्र पनि बनाएको भन्दै उनले आगामी दिनमा अन्य सेवा सुविधाहरु थप्दै देशकै नमूना सामुदायिक अस्पताल बनाइने जानकारी दिए । अस्पतालको भौतिक संरचनामात्र नभइ जनशक्ति, उपकरण, सेवामा पनि उल्लेख्य बृद्धि गरिएको उनको भनाइ छ । 

Post a Comment

Previous Post Next Post