कालीकोट : कालिकोट जिल्लामा पहिरोमा परेर दुई दिनमा २२ जना बेपत्ता भएका छन्। जसमा एक जना प्रहरी जनाव पनि परेका छन्। जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामी गएर घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपत्ता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।
नगरपालिकाका हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाहसंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उद्धृत गदै प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटनास्थलमा पुग्न नसकेकाले यकिन भन्न नसकिएको तर स्थानीयले १३ जना घर नफर्केकाले सबै बेपत्ता भएको जानकारी आएको बताए। यस्तै आइतबार बिहान १० बजे तिलागुफा नगरपालिका वडा नं ७ का धुर्वराज बिष्टको घर पहिरो पुरिँदा उनीसहित श्रीमती, छोरा बुहारी र छोरी गरी पाँच जना बेपता भएका छन्।
बेपता हुनेहरुमा धुर्वराज विष्ट, उनकी श्रीमती वर्ष ३५ की ममता विष्ट, १५ वर्षका छोरा भरत विष्ट, १३ वर्षीया छोरा कृपेश विष्ट र ११ वर्षीया छोरी ज्यानी विष्ट बेपता भएका छन्। यस्तै वडा नं ६ को भैँसीगौडामा जोरा सिहं शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालकला शाही बेपत्ता भएका हुन्। सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा वर्ष १४ का केवल केसी र पचालझरना वडा नं ७ का वर्ष ४७ पुरीलाल बोहोरा पनि बेपत्ता भएका छन्।
पानी नरोकिएका कारणले प्रहरी घटनास्थलमा जान नसकेको र आज हल्का पानी रोकिएकाले दुवै तर्फबाट प्रहरी परिचालन गरिएको भए पनि घटनास्थल पुग्न अझै नसकेको बताए। यस्तै, जुम्ला घर बिदाबाट फर्किँदै गरेका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपत्ता भएका हुन्।
दशैँ मनाउन घर बिदा गएका रावतसहित तीन जना प्रहरी पैदल जुम्लाबाट सुर्खेततर्फ फर्किँदै गरेका र खाँडाचक्र नगरपालिका वडा नं ८ को एक खोला तर्ने क्रममा बेपत्ता भएका हुन्।

Post a Comment