कर्णाली राजमार्ग खुलाउन ब्लास्टिङ गरिदै

जुम्ला :  पहिरोका कारण बन्द भएको कर्णाली राजमार्ग खुलाउनका लागि नेपाली सेनाले ब्लास्टिङ गर्न थालेको छ । राजमार्गको नाग्मदेखि राचुली खण्डमा दुई दिन अघिदेखि नेपाली सेना र डिभिजन सडक कार्यालय जुम्लाको समन्वयमा सडकमा खसेका ठूला ढुङ्गाको ब्लास्टिङ सुरु गरिएको हो ।

नेपाली सेनाको नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार अहिलेसम्म १० वटा ब्लास्टिङ गरिएको छ । नन्दा बक्स गणका उपसेनानी (क्याप्टेन) सन्तोष केसीको नेतृत्वमा ५० जना नेपाली सेनाको टिम यो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिएका छन  ।

एक्स्काभेटरले उठाउन नसकिने ढुङ्गा भएकाले ब्लास्टिङ गर्नुपरेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार अहिले पनि ब्लास्टिङ गर्ने काम तीव्ररूपमा भइरहेको जानकारी दिएका छन । उनका अनुसार अब भत्किएको सडकमा जाली भरेर पर्खाल बढाउने काम पनि सुरु गरिने छ । सबैभन्दा कठिन राचुलीबाट नाग्म खण्ड बनाउन सकियो भने कर्णाली राजमार्ग सञ्चालन हुने श्रेष्ठले बताए ।

Post a Comment

Previous Post Next Post