कर्णाली सरकारको प्रवक्तामा मन्त्री खड्का नियुक्त

सुर्खेत : कर्णाली प्रदेश सरकारको प्रवक्तामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का नियुक्त भएकी छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्री खड्कालाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रवक्ता खड्काका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ ।

बैठकले कर्णाली प्रदेशसभाका सांसदका स्वकीय सचिवलाई चालु आर्थिक वर्षदेखि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । गत २०८२ असोजदेखि रोकिएको स्वकीय सचिवहरूको सेवा–सुविधा पुनः उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता खड्काले जानकारी दिइन् ।

‘प्रदेशसभा सदस्यहरूका लागि यो सुविधा आवश्यक भएकाले सरकारले निर्णय गरेको हो,’ उनले भनिन्, ‘अन्य प्रदेशमा यसअघि नै स्वकीय सचिवको सेवा–सुविधासम्बन्धी निर्णय भइसकेको छ ।’

यस्तै, कर्णाली प्रदेश लोकसेवा आयोगको सचिवमा रामबहादुर कुरुम्बाङलाई पदस्थापन गर्ने निर्णय भएको छ ।

लामो समयदेखि अलपत्र रहेको दैलेखको आठबीस नगरपालिका–४, राकम कर्णालीस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न गर्न प्रदेश सरकारले विनियोजन गरेको एक करोड ६ लाख ५० हजार रुपैयाँ खर्च गर्ने अख्तियारी प्रदान गर्न संघीय गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।


यसैगरी, ‘दलित समुदाय सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन ऐन, २०८१’ को पहिलो संशोधन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खड्काले बताइन् ।

Post a Comment

Previous Post Next Post