सुर्खेत : यातायात व्यवस्था कार्यालय सुर्खेतमा सेवा प्रवाहलाई छिटोछरितो, झन्झटरहित र प्रविधिमैत्री बनाउन एकद्वार सेवा प्रणाली सुरु गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले शुक्रबार एक कार्यक्रमबीच एकद्वार सेवा प्रणालीको उद्घाटन गर्नुभएको हो। गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने घोषणा गरेअनुसार यातायात व्यवस्था कार्यालय सुर्खेतमा यसको सुरुवात गरिएको हो।
नयाँ प्रणाली लागू भएपछि एउटै कामका लागि सेवाग्राहीले विभिन्न फाँटमा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। सेवाग्राहीले डिजिटल माध्यमबाट टोकन लिनुपर्नेछ। टोकन नम्बरअनुसार फ्रन्ट डेस्कमा पुगेर आवेदन दर्ता गराएपछि आवश्यक कागजात जाँच गरी आवेदन कम्प्युटर प्रणालीमार्फत सम्बन्धित शाखामा पठाइनेछ।
कार्यालयका अनुसार ब्लुबुक नवीकरण, सवारीसाधन जाँचपासलगायतका सेवा यही प्रक्रियाबाट सञ्चालन गरिनेछ। सेवाग्राहीले आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारीसमेत अनलाइन प्रणालीमार्फत हेर्न र निगरानी गर्न सक्नेछन्। सेवा लिने क्रममा समस्या आएमा वा गुनासो भए अनलाइनबाटै गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
सेवा प्रणालीको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले प्रविधिको प्रयोगमार्फत सरकारी सेवालाई छिटो, पारदर्शी र सहज बनाउनुपर्ने बताए। सेवाग्राहीले अनावश्यक दुःख नपाउने गरी कार्यालयको कामलाई व्यवस्थित गर्न उनले निर्देशन दिए।
कार्यक्रममा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ योगीले जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको बताए। उनका अनुसार सुर्खेतमा वर्षमा ७ देखि ८ हजार जनाले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० का लागि माग गर्ने गरेका छन्। तर कार्यालयले वर्षमा करिब १७ देखि १८ सय जनाको मात्रै माग पूरा गर्न सकिरहेको छ।
अनलाइन प्रणालीमा एकपटकमा दुई सय जनाले मात्रै फाराम भर्न सक्ने व्यवस्था रहेकाले फाराम खुलेको करिब एक घण्टामै कोटा सकिने गरेको योगीले बताए।
एकद्वार सेवा प्रणालीले कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गर्नुका साथै सेवाग्राहीको समय बचत, काममा पारदर्शिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।

Post a Comment