सुर्खेत: कर्णाली राजमार्ग अन्तर्गत दैलेख सडकखण्डमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुबेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
कर्णाली प्रदेश प्रहरीका सुचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार नदीको जलसतह बढेका कारण गाडी पूर्ण रूपमा डुबेको छ र बाहिरबाट देखिन नसक्दा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान करिब ११ः३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ को साङ्गेतडा क्षेत्रमा दुर्घटनाग्रस्त भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनास्थलबाट एक जना पुरुषलाई भिरमा अचेत अवस्थामा उद्धार गरिएको छ। उनको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको गुल्म दैलेख तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका सुरक्षाकर्मी संयुक्त रूपमा परिचालित छन्।
प्रहरीका अनुसार जयराज सापकोटाको नेतृत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट गोताखोरसहितको टोली सुर्खेतबाट घटनास्थलमै पुगेको तथा थप विवरण भने आउन बाकीँ रहेको जानकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार गाडी सुर्खेत बसपार्कबाट बिहान ८ बजे छुट्दा पाँच जना सवार रहेको भनिए पनि दुर्घटनाका बेला गाडीमा कति जना थिए भन्ने यकिन भने हुन सकेको छैन।
प्रहरीले भौगोलिक अवस्था जटिल भएकाले घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने जनाएको छ। उद्धार तथा खोजी कार्य जारी छ।

Post a Comment