सुर्खेत : देशमा बढ्दो दण्डहीनता, मानव अधिकार उल्लंघनका घटनाप्रति जिम्मेवार निकायहरूको मौनता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि देखिएका चुनौतीका बीच नागरिक समाज थप सक्रिय हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । मानव अधिकार, शान्ति, लोकतन्त्र, सामाजिक न्याय र वातावरणीय संरक्षणका पक्षमा तीन दशकदेखि काम गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले अवलम्बन गरेको अहिंसा, सत्य र नागरिक खबरदारीको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ छ ।
मानव अधिकार तथा शान्ति समाजको ३०औँ स्थापना दिवसका अवसरमा आयोजित नागरिक संवाद कार्यक्रममा समाजका केन्द्रीय सचिव प्रकाश शाहीले “आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो” विषयक अवधारणा पत्र प्रस्तुत गर्दै मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय र वातावरण संरक्षणलाई नागरिक समाजको मूल आधारका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले शान्ति समाज स्थापना भएदेखि मानव अधिकार संरक्षण, दण्डहीनताको अन्त्य, लोकतान्त्रिक मूल्यको प्रवर्द्धन, सामाजिक सद्भाव र विश्व शान्तिका पक्षमा निरन्तर अभियान सञ्चालन गर्दै आएको बताए । शाहीका अनुसार समाजले विगत तीन दशकमा मानव अधिकार उल्लंघनका घटनाविरुद्ध आवाज उठाउने, सत्य र न्यायको पक्षमा उभिने तथा नागरिक चेतना अभिवृद्धि गर्ने कामलाई प्राथमिकतामा राख्दै आएको छ ।
प्रस्तुतिमा उनले मानव अधिकारको अभ्यासलाई नागरिक जीवनको आधारभूत मूल्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै राज्य र गैरराज्य पक्षबाट हुने अधिकार उल्लंघनका घटनाप्रति निरन्तर खबरदारी आवश्यक रहेको बताए । उनले द्वन्द्वकालीन न्याय अझै निष्कर्षमा पुग्न नसकेको, दण्डहीनताको संस्कृति कायम रहेको तथा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
शाहीले शान्ति समाजले विगतमा सञ्चालन गरेका ‘रातो रगत होइन, शान्तिको सन्देश’, युद्धविरुद्धका अभियान, लोकतान्त्रिक आन्दोलनमा सहभागिता, सामाजिक न्याय, सहिष्णुता, सद्भाव तथा जलवायु न्यायसम्बन्धी अभियानहरूको समेत चर्चा गरे । उनका अनुसार हिंसा, विभेद, छुवाछुत र असमानताविरुद्धको संघर्षसँगै जलवायु परिवर्तन, चुरे विनाश, नदी तथा हिमाल संरक्षणका विषयलाई पनि नागरिक सरोकारको केन्द्रमा राख्न आवश्यक छ ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयोजक नारायण सुवेदी ले अहिले देशमा जिम्मेवार व्यक्तिहरू मौन बस्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्नुपर्ने आवश्यकता रहेको बताए । मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले देशमा भइरहेका मानव अधिकार उल्लंघनका घटनाविरुद्ध निरन्तर आवाज उठाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, योजना आयोगका सदस्य अशोकनाथ योगीले देशमा दण्डहीनता बढ्दै गएको उल्लेख गर्दै राज्यले परिकल्पना गरेको मार्गअनुसार अघि बढ्नुपर्ने बताए । उनले मानव अधिकार तथा शान्ति समाजले अवलम्बन गरेको अहिंसा, सत्य, सामाजिक न्याय र नागरिक उत्तरदायित्वको बाटो वर्तमान सन्दर्भमा अझ आवश्यक बनेको उल्लेख गर्दै त्यसअनुसार काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागीहरूले लोकतन्त्रलाई संस्थागत गर्न, मानव अधिकारको संरक्षण सुनिश्चित गर्न, दण्डहीनताको अन्त्य गर्न तथा सामाजिक सद्भाव र शान्तिको संस्कृतिलाई बलियो बनाउन नागरिक समाजको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । मानव अधिकार तथा शान्ति समाजले आगामी दिनमा पनि मानव अधिकार, शान्ति, सामाजिक न्याय, लोकतन्त्र र वातावरणीय संरक्षणका मुद्दामा निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Post a Comment