सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नगर प्रहरीको दुर्व्यवहारको सर्वत्र आलोचना भएपछि वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्ने महिलालाई १० हजार रुपैयाँ सहयोग गरेको छ ।
वीरेन्द्रनगरमा धमिला चौलागाईंको एक डालो काफल सडकमा घोप्ट्याइदिएपछि सामाजिक सञ्जालमा नगर प्रहरीको कडा निन्दा भएको थियो ।
नगरपालिकाले बसपार्क अगाडि सडकमा काफलको डालो बोकेर हिँडिरहेकी महिलालाई नगर प्रहरीबाट भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जानकारी गराएको छ। साथै उक्त दुर्व्यवहार गर्ने नगर प्रहरीलाई तत्काल कारबाही गर्ने निर्णय पालिकाले गरेको छ । कालीकोटकी चौलागाईंलाई १० हजार रुपैयाँ सहयोगस्वरूप प्रदान गरिएको मेयर मोहनमाया ढकालले बताइन् ।
त्यस्तै पालिकाका जनप्रतिनिधि र कर्मचारीले पनि १ हजार ५ सय रुपैयाँबराबरको काफल किनेर दिए । घटना नियतवश नभएको मेयर ढकालले बताइन् । मेयर ढकालले वीरेन्द्रनगरमा फुटपाथ व्यवस्थापन भइरहेको समेत जानकारी दिइन् ।
नगर प्रहरीको गाडीबाट झरेका नगर प्रहरीले काफलको डालो सडकमा फालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले पनि दुर्घटनाको जोखिम न्यूनीकरणका लागि फुटपाथ व्यवस्थापनको काम गर्दै आएको बताए ।


Post a Comment