सुर्खेतबाट १०८ जना सैनिक भए पास आउट

 सुर्खेत : नेपाली सेनाको उत्तर पश्चिम पृतना मुख्यालय अन्तर्गत कालिबहादुर गण, कपासे व्यारेक सुर्खेतमा आयोजित दीक्षान्त समारोहबाट १०८ जना नयाँ सैनिक पास आउट भएका छन् ।

नौ महिनाको कडा आधारभूत तालिम पूरा गरेका ती सैनिकहरूले अन्तिम दलेल कवाजसहित परेड प्रदर्शन गर्दै औपचारिक रूपमा नेपाली सेनामा प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि उपरथी दिपेशजंग शाहले दीक्षित सैनिकलाई बधाई एवं शुभकामना दिँदै राष्ट्र, जनता र संस्थाप्रति निष्ठावान, अनुशासित र समर्पित रहन निर्देशन दिए ।

उनले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई कर्तव्यमार्गमा अडिग रहनु नै सच्चा सैनिकको धर्म भएको बताए । दीक्षान्त समारोहमा तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कार वितरण गरिएको थियो भने परिवारजनको उपस्थितिमा सैन्य परेड, झण्डा सलामी, कवाज निरीक्षण र सुशोभन कार्यक्रमसमेत सम्पन्न भयो ।

नेपाली सेनाको एक अभिन्न अंगको रुपमा रहेको यस काली बहादुर गणको स्थापना तेश्रो नेपाल–भोट युद्धको दौरान वि.सं. १९१२ मंसिर १६ गते स्व. श्री ५ सुरेन्द्र बिर बिक्रम शाहको शासनकालमा भएको हो । 

श्री कालिबहादुर गणका गणपति प्रमुख सेनानी बासु खत्रीका अनुसार हाल सम्म गणबाट ३८ औँ सिसम पास आउट भएका छन भने यस वर्ष सुर्खेतबाट १०८ जना सैनिक पास आउट भएका छन  । जसमध्ये सुदूरपश्चिम प्रदेशबाट ८, लुम्बिनी प्रदेशबाट २०, कर्णाली प्रदेशबाट ३९ र गण्डकी प्रदेशबाट ३९,बागमती प्रदेश १,मघेश प्रदेश १ जना छन् ।

जातीय वर्गीकरणमा ३९ जना क्षेत्री, ३५ जना जनजाति, २७ जना दलित र ७ जना ब्राह्मण गरि १०८ जना रहेका छन् ।  गणपति खत्रीका अनुसार, तालिम सम्पन्न गरेका सैनिकहरू अब विभिन्न रिक्त युनिटहरूमा खटिने छन् । समारोहमा जिल्ला प्रशासन कार्यालयका प्रमुख,संघसस्थाका प्रमुख र विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

  


Post a Comment

Previous Post Next Post