सुर्खेत : सुर्खेतस्थित प्रदेश अस्पतालमा तिन दिनेसम्म आयोजना गरिएको नबिल निःशुल्क जलन उपचार शिविरमा झण्डै दुई सय जना जलेका बिरामीहरुको स्वास्थ्य जाँच गरिएको छ । चैत २७ गतेदेखि २९ गतेसम्म अस्पतालमा शिविर संचालन गरिएको थियो ।
शिविरमा १९४ जनाको जाँच गरिएको छ भने त्यसमध्ये ३९ जनाको शल्यक्रिया गरिएको छ । साथै एक जना बिरामीलाई जटिल भएकोले थप शल्यक्रियाका लािग काठमाडौंस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ । गत चैत २३ गतेदेखि २६ गतेसम्म कर्णाली प्रदेशका १६ स्थानमा जलनका बिरामी जाँच छनोट शिबिर गरिएको थियो । त्यसबेला सुर्खेतका साथै रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, सल्यान र दैलेखका १६ स्थानीय तहमा छनोट शिविर गरिएको थियो । नबिल बैंकको सहाकार्य तथा कीर्तिपुर अस्पताल, फेक्ट नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश अस्पतालको आयोजनामा ती स्थानमा आयोजना गरिएको छनोट शिबिरबाट १८३ जना बिरामी छनोट गरिएका थिए ।
कीतिपुर अस्पतालका प्राविधिक कैलाश खाकी श्रेष्ठले विभिन्न स्थानमा शिविर गरेर छनोट गरिएका विरामीहरुका लागि चैत २७ देखि २९ गतेसम्म प्रदेश अस्पतालमा शल्यक्रिया गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश अस्पतालमा गरिएको शिविरमा विभिन्न पालिकामा गरिएको शिविरबाट छनोट भएर आएका बिरामीका साथै अन्य जलन बिरामीहरुको पनि जाँच गरिएको छ । ३९ जनाको शल्यक्रिया गरिएको छभने अन्यको जाँच गरी क्रिमलगायत निःशुल्क औषधि गरिएको छ ।
प्रदेश अस्पतालमा शिविरमा आउने विरामीहरुको शल्यक्रियाका साथै आतेजाने, बस्ने र कुरुवालाई खाना पनि निःशुल्क गरिएको नबिल बैंकले जनाएको छ । साथै शल्यक्रियापछि गरिने घाउ सफाईसम्म बस्दा लाग्ने खर्च पनि निःशुल्क गरिएको छ । प्रदेश अस्पतालको शिविरमा कीतिपुर अस्पतालका बरिष्ठ चिकित्सकहरु डा। शङ्करमान राई, किरण नकर्मीलगायतको टोली संलग्न थियो । आगोमा जलेका, जन्मँै ओठ तालु चिरिएका, औंला जोडिएका, औंला बढी भएका तथा चोटपटक लागेर समस्यामा परेकाहरुका लागि जलन शिविरमा उपचार गरिएको थियो ।

Post a Comment