सुर्खेत : सुर्खेतमा दलित महिला र किशोरीहरू आयआर्जनका विभिन्न गतिविधिमा सहभागी भई आत्मनिर्भर बन्दै लाभ लिन थालेका छन् । दलित महिला संघ सुर्खेतले बुधबार आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
दलित महिला र किशोरीको मानव अधिकार प्रवद्र्धनसँगै आर्थिक सशक्तीकरणका लागि वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा पाँच–पाँच वटा दलित महिला समूह तथा एक–एक वटा किशोरकिशोरी सञ्जाल गठन गरिएको छ । यी समूहमार्फत ३०५ जना प्रत्यक्ष लाभान्वित भएका छन्, जसमा २५० जना महिला, ३० जना किशोरकिशोरी र २५ जना दलित महिला अगुवाहरू सहजीकरणमा सक्रिय छन् ।
समूहमा आबद्ध महिलाहरूले आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। कुल २५० महिलाले खुद्रा पसल सञ्चालन, बाख्रापालन, बंगुरपालन लगायत ११ प्रकारका व्यवसायिक क्रियाकलापमा सहभागिता जनाएका छन् । जसअन्तर्गत ३६ जनाले खुद्रा पसल, ६० जनाले बाख्रापालन, २५ जनाले उन्नत बाख्रापालन र २० जनाले बंगुरपालन गरिरहेका छन् ।
यसका साथै दलित महिला समूहहरूले सामाजिक लेखापरीक्षण, सरोकारवालासँग प्रदेशस्तरीय अन्तरक्रिया, स्थानीय तहमा सार्वजनिक संवाद तथा कानुनी सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिरहेका छन् ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीका अनुसार यी गतिविधिहरूले महिलाहरूको क्षमता अभिवृद्धि र अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । त्यस्तै, दलित महिला संघ (फेडो) की सचिव खगिसरा वलीले महिलाहरूलाई आत्मनिर्भर र व्यवसायी बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी साबित भइरहेको बताइन् ।


Post a Comment