इनिशा विक मृत्यु प्रकरण : सरकारी वकिल कार्यालयमा धर्ना

सुर्खेत : गत २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१,मा बस्दै आएकि १६ वर्षीया इनिशा विकको रहस्यमय मृत्यु भएको थियो । आइतबार सरकारी वकिल कार्यालयले घटनामा संलग्न दोषीमाथि जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको जनाएको छ । प्रहरीको अनुसन्धानअनुसार इनिशाको मृत्युको कारण उनका प्रेमी भनिएका १६ वर्षे किशोरसँग शारीरिक सम्बन्धपछि भएको अत्यधिक रक्तश्राव हो । तर पीडित परिवारले प्रहरीको उक्त अनुसन्धान प्रतिवेदनमा आशंका गरिरहेका छन् ।

 

उनीहरूले जबर्जस्ती करणीपछि हत्या भएको दाबी गर्दै आएका छन् । प्रहरीले यस प्रकरणमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत गरेको अनुसन्धानमा इनिशाका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुर लगाएको छ । साथै, घटनास्थल पुगेका अन्य तीन जनालाई इनिशालाई बचाउन भूमिका नखेलेको भन्दै ज्यानसम्बन्धी कसुरमा कैद माग प्रहरीले गरेको छ ।तर पीडित परिवारले आन्दोलन जारी राखेपछि इनिशाको शव २४ दिनदेखि कर्णाली प्रदेश अस्पतालमा नै राखिएको छ । उनीहरूले घटनामा संलग्नलाई कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।


यस्तै आज सोमबार सरकारी वकिल कार्यालयअगाडि इनिशा विक मृत्यु प्रकरणमा मुछिएका तीन किशोरका आफन्तले धर्ना दिएका छन् । निर्दोषलाई सजाय नभई न्याय चाहिने बताउँदै उनीहरूले धर्ना दिएका हुन् । न्यायालयलाई प्रभावित गर्नेलाई कारबाही हुनुपर्ने माग उनीहरूको छ । प्रहरीको अनुसन्धान एकातिर सरकारी वकिल कार्यालयको अभियोग अर्काेतिर पारेर निर्दाेषलाई फसाउन खोजिएको दाबी आफन्तहरुले गरेका छन ।

 


Post a Comment

Previous Post Next Post