कर्णालीमा निर्वाचनलाई शान्तिपूर्ण बनाउन ९ हजार ७४८ जना निर्वाचन प्रहरी भर्ना

सुर्खेत :  कर्णाली प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयराम सापकोटाको कमाण्डमा प्रदेशभरका सबै प्रहरी युनिट निर्वाचन सुरक्षामा परिचालित भएका छन्। निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सुनिश्चित गर्न प्रहरी पूर्ण तयारीका साथ मैदानमा उत्रिएको जनाएको छ । निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि कर्णाली प्रदेशमा ९ हजार ७४८ जना निर्वाचन प्रहरी भर्ना गरिएको जानकारी दिए । यद्यपि अपुग जनशक्ति, हातहतियार तथा सवारी साधनका लागि प्रहरी प्रधान कार्यालयमा माग पठाइएको डिआइजी सापकोटाले जानकारी दिए । प्रहरीले मतदान स्थल, मतदाता र निर्वाचन प्रक्रियाको सुरक्षामा निस्पक्ष रूपमा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई पनि जनतालाई सत्य, सन्तुलित र तथ्यपरक सूचना प्रवाह गर्न आग्रह गरेको छ ।

जसरी प्रहरी निष्पक्ष रूपमा सुरक्षामा खटिएको छ, त्यसरी नै पत्रकारहरूले पनि जनचेतना अभिवृद्धि हुने गरी भूमिका खेल्नुपर्छ, डिआइजी सापकोटाको भनाइ छ ।  प्रदेश प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म कर्णाली प्रदेशभर कुल १ हजार ४६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ५५२ वटा मुद्दा  फछ्र्यौट भइसकेका छन् भने विभिन्न मुद्दामा ८११ जना अभियुक्त पक्राउ परेका छन् । कारागार सुरक्षाको सन्दर्भमा, रुकुमपश्चिम कारागारबाट भागेका १६ जना कैदी अझै पक्राउ पर्न बाँकी छन् भने जुम्ला कारागारबाट फरार ९ जना कैदीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन् ।

पछिल्लो समय कर्णालीमा लागू औषध सेवन र ओसारपसारको समस्या बढ्दो क्रममा रहेको र हिमाली जिल्लासमेत यसबाट प्रभावित हुन थालेको प्रहरीको निष्कर्ष छ ।  प्रहरीले निर्वाचनलाई शान्तिपूर्ण बनाउने साझा जिम्मेवारी रहेको भन्दै कानून उल्लङ्घन गर्ने, भ्रामक सूचना फैलाउने तथा हिंसात्मक गतिविधिमा संलग्न हुने जो–कोहीलाई कारबाही गरिने चेतावनी दिएको छ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । सुरक्षित मतदान, सत्य सूचना र जिम्मेवार व्यवहारमार्फत मात्र निष्पक्ष निर्वाचन सम्भव हुन्छ । प्रहरी, सञ्चारमाध्यम र नागरिकबीचको सहकार्यले मात्रै कर्णालीमा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सकिने बताए।

Post a Comment

Previous Post Next Post