सुर्खेत : राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतको प्रमुखका रूपमा मुकुन्द प्रसाद रिजालले पदबहाली गर्दै सुरक्षा व्यवस्थित गर्नु प्रमुख काम रहेको बताएका छन । । मंगलबार पत्रकारहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रममा प्रमुख रिजालले कर्णाली राजमार्गको सुरक्षा व्यवस्थित गर्नु आफ्नो प्रमुख काम रहेको बताए ।
प्रमुख रिजालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन ट्राफिक प्रहरीले सक्रिय भूमिका खेल्ने समेत बताएका छन् । उनले निर्वाचन अवधिमा सवारी जाँचलाई थप व्यवस्थित बनाउने बताए । हाल ट्राफिक नियम उल्लंघन बढ्दै गएको र त्यसकै कारण सडक दुर्घटना बढेर जनधनको क्षति हुने समस्या देखिएको उनले जानकारी दिए । ट्राफिक नियम अर्काको लागि होइन, आफ्नै सुरक्षाका लागि हो। सबै सवारी चालकले नियमको पालना गर्नुपर्छ। हाम्रो मुख्य लक्ष्य पनि दुर्घटना कम गर्दै ट्राफिक नियमको पालना गराउने हो। यसमा प्रहरी एक्लैले सम्भव छैन, सबै सरोकारवाला निकायको सहयोग आवश्यक छ, उनले भने ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले सवारी चालकहरूमा ट्राफिक सचेतनाको कमी र नियम पालनामा कमजोरी मुख्य चुनौती रहेको धारणा राखे। उनले ट्राफिक सचेतना कार्यक्रमलाई समुदायस्तरमा अझ प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। ट्राफिक व्यवस्थापन कार्यालयले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र निर्वाचनका क्रममा सहज यातायात व्यवस्थापनका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने जानकारी दिए ।

Post a Comment