सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा सार्वजनिक सम्पत्ति हिनामिनामा संलग्न तीन जना भ्रष्टाचारी ठहर भएका छन् । अदालतले अस्पतालमा कार्यरत दुई र एक बैंक कर्मचारीसहित तीन जनाको मिलेमतोमा २५ लाखभन्दा बढी रकम हिनामिना भएको ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालीन लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाण्डौंमा सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अन्तिम फैसला सुनाउँदै विशेष अदालतले उनीहरूलाई भ्रष्टचारी ठहर गरेको हो ।
उनीहरूविरुद्ध २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना गरेको आरोपसहित ९ असार २०८२ मा अख्तियार विशेष अदालत पुगेको थियो । आइतबार उक्त मुद्दामा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अस्पतालमा दुई शीर्षकमा २५ लाखभन्दा बढी रुपैयाँ हिनामिना भएको ठहर गरेको हो ।
प्रदेश अस्पतालको सामाजिक सेवा इकाइ कार्यक्रमतर्फ कम्प्युटर अपरेटर ९करार० पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बीमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बीमितहरूको नाम दर्ता गर्ने कार्य गर्दै आइरहेकोमा निजले अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गर्ने गरेको र बिलिङबाट प्राप्त रकम बैंक दाखिला नगरी हिनामिना गरेको भनी परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रदेश अस्पतालका तत्कालीन लेखा अधिकृत ९अधिकृतस्तर छैटौँ० शंकरप्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएकी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन इन्चार्ज गोमा सिंजाली मगरसमेत अनुसन्धानमा तानिएका थिए ।
अस्पतालको रकममा बदनियतले १ साउन २०८० देखि ३२ साउन २०८१ सम्मको अवधिमा संकलन भएको राजस्व रकम ३४ लाख ३ हजार ८ सय ५६ मध्ये ८ लाख ३६ हजार ३ सय ३० रुपैयाँ अस्पतालको खातामा दाखिला गरी बाँकी २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना गरेको तथ्य अख्तियारले फेला पारेको थियो ।
प्रतिवादी शाहीले प्रदेश अस्पतालमा प्रयोगमा रहेको डल्फिन सफ्टवेयरको प्रयोग गरी संकलन गरेको ३४ लाख ३ हजार ८ सय ५७ मध्ये स्वास्थ्य बीमातर्फको १ लाख ६५ हजार ४ सय ३६ रुपैयाँ ५० पैसा र साधारणतर्फ २४ लाख २ हजार ९० रुपैयाँ बैंकमा जम्मा नगरेको तथ्यमा विवाद गर्नुपर्ने अवस्था नरहेको विशेष अदालतले भनेको छ ।
यस्तै, प्रतिवादी सिंजाली मगरले प्रतिवादी शाहीलाई बैंक काउन्टरमा अनधिकृत प्रवेश दिई उक्त सफ्टवेयरबाट जारी भएको बिलका आधारमा उठाएको रकम र साधारणतर्फको २४ लाख २ हजार ९० रुपैयाँ बैंकमा दाखिला नगरेको विशेषको ठहर छ ।
‘प्रतिवादी शंकरप्रसाद सुवेदीले अस्पतालको लेखा अधिकृतको हैसियतले अस्पतालका विभिन्न काउण्टरबाट डल्फिन सफ्टवेयरसमेत मार्फत संकलन भएको रकम बैंकमा दाखिला भएरनभएको विवरणको नियमित परीक्षण गरी अस्पतालको खातामा रकम जम्मा गराई लेखा दुरुस्त राख्ने र राख्न लगाउने जिम्मेवारी पूरा गरेको देखिएन,’ विशेष अदालतको जारी कसुर ठहर आदेशमा भनिएको छ ।
विशेष अदालतले अगाडि भनेको छ, ‘प्रतिवादी तृप्ति शाहीले अनधिकृत तवरले संकलन गरेको रकम अस्पतालको खातामा जम्मा हुनुपर्ने साधारणतर्फको २४ लाख २ हजार ९० रुपैयाँको हकमा बैंक दाखिला नगर्ने प्रतिवादी तृप्ति शाही, सोही अस्पतालमा रहेको कुमारी बैंकको एक्स्टेन्सन काउण्टर इन्चार्ज प्रतिवादी गोमा सिंजाली मगर र सो अस्पतालको लेखा अधिकृत प्रतिवादी शंकरप्रसाद सुवेदीले आ–आफ्नो जिम्मेवारी पूरा गरेको देखिएन ।’
साथै, शाही र लेखाअधिकृत सुवेदीले आधिकारिक युजरनेम र पासवर्ड अनधिकृत प्रयोग गरी संकलन गरेको रकममध्ये बैंक दाखिला नभएको स्वास्थ्य बीमातर्फको १ लाख ६५ हजार ४ सय ३६ रुपैयाँ ५० पैसा हिनामिना गरेको ठहर अदालतको छ ।
विशेष अदालतले कसुर ठहर आदेशमा भनेको छ, ‘प्रतिवादीहरू तृप्ति शाही, गोमा सिंजाली मगर र प्रतिवादी शंकरप्रसाद सुवेदीले आफ्नो कर्तव्य पूरा नगरी लापर्वाही गरी एकअर्काको मिलेमतोमा रकम हिनामिना गरी अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्छ ।’ विशेष अदालतले तीनै जनाविरुद्ध १८ पुस २०८२ मा सजाय निर्धाण गर्न पेसी तोकेको छ ।

Post a Comment