लागूऔषध सहित तीन जना पक्राउ

सुर्खेत : सुर्खेत वीरेन्द्रनगरमा लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाले वीरेन्द्रनगरमा बिसाउने चौतारी क्याफे सञ्चालन गरिरहेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा कात्तिक  १७ गते वीरेन्द्रनगर नगरपालिका–०८ स्थित क्याफेमा छापा मारी ११ ग्राम ४ सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

प्रहरीका अनुसार सो क्रममा वीरेन्द्रनगर–०५ घर भई वडा नं ०८ मा बस्दै आएका २८ वर्षीय हिमाल आलेलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो । उनले सञ्चालन गरेको “बिसाउने चौतारी क्याफे” होटलको शौचालयको भेन्टिलेसनमा ब्राउनसुगर लुकाएर राखिएको भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी घटनासँग सम्बन्धित रहेकामा शंका लागेपछि वीरेन्द्रनगर–०४ मुलपानी बस्ने २६ वर्षीय सरोज ढकाललाई समेत पक्राउ गरिएको छ । उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, अर्को सूचनाका आधारमा सोही दिन वीरेन्द्रनगर नगरपालिका–०१ मा खटिएको प्रहरी टोलीले ४७ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरेको छ । उनको साथबाट ३.१८० ग्राम तीन ग्राम एक सय असी मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो ।

पक्राउ परेकासँगै प्रहरीले १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर १ लाख ७१ हजार ३ सय ३० रुपैयाँ नगद, कैची दुई थान र प्लास्टिकको टुक्रा एक थान बरामद गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Post a Comment

Previous Post Next Post