सामाजिक विकास मन्त्री भण्डारीको पदभार ग्रहणको एक वर्ष पुरा : कामको पुस्तक सार्वजनिक

सुर्खेत : कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफुले पदभार ग्रहण गरेको एक वर्ष दुईदिनमा पुरा गरेको कामको पुस्तक सार्वजनिक गरेका छन।

मन्त्री भण्डारीले यस एक वर्षको अवधिमा सम्पादन गरिएका प्रमुख क्रियाकलाप समावेश गरी ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नामक समिक्षात्मक पुुस्तक सार्वजनिक गरेका छन् । मन्त्री भण्डारीको सचिवालयले विहिबार पत्रकार सम्मेलन मार्फत पुस्तक सार्वजनिक गरेको हो ।

उनी दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं।२ ९क० बाट प्रदेश सभामा निर्वाचित भई नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको निर्णय बमोजिम २०८१ साउन २० गते मन्त्री बनेका थिए ।

पुुस्तकमा उल्लेख भएअनुसार मन्त्रीको एक वर्षको समयावधीमै तीन जना सचिव फेरिँदा संस्थागत स्थायित्व र कार्यसम्पादनको दृष्टिले स्थायी सरकारका रूपमा चिनिएको निजामती सेवाको विशिष्ट श्रेणीका सचिवको अस्थायी प्रवृत्तिको सामना गर्नुपरेको थियो ।

मन्त्री भण्डारीले भने, ‘उमेर हदका कारण सचिवहरू निजामति सेवाबाट निवृत्त हुनुभएको थियो । सचिवको फेरबदलले राजनीतिक–प्रशासनिक सहकार्यमा जटिलता ल्याउनुका साथै प्रशासनिक अनिश्चितता देखिएको छ । जसबाट कार्यसम्पादनमा संरचनागत, नीतिगत, व्यवस्थापकीय र मनोवैज्ञानिक तहमा विविध प्रभावहरू परेका छन् ।’ 

उक्त प्रभावहरू सकारात्मक, नकारात्मक वा मिश्रित प्रकृतिका रहेको मन्त्री भण्डारीले बताए । जनसेवामूलक मन्त्रालयका हिसाबले यस मन्त्रालयप्रति राजनीतिक एवम् प्रशासनिक नेतृत्वहरू गम्भीर हुन आवश्यक देखिएको उनको भनाइ छ ।

कर्णाली प्रदेशको सामाजिक आर्थिक रूपान्तरण गर्ने मन्त्रालयको दिर्घकालीन सोच अनुरूप ३९ वटा कार्यालयहरू मार्फत सेवा प्रवाह हुुदै आएको छ । तर सिमित स्रोतसाधन, जनशक्ति र निश्चित समयमा उल्लेख्य कार्य गर्ने दृढ ईच्छा बमोजिम मन्त्रीस्तरबाट गर्नुपर्ने कार्यजिम्मेवारीलाई पूरागर्ने कोशिस गरिएको मन्त्री भण्डारीले बताए ।

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन चालुु आर्थिक वर्ष २०८२/०८३ को सुरूवात मै साउन ११ गते नै वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन स्वीकृत भई कार्यान्वयनमा आएको छ । मन्त्रालयले डेङ्गि रोग नियन्त्रण गर्न श्रावन महिना डेंगी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान अन्तर्गत लार्भा खोज र नस्ट अभियान सञ्चालन गरिरहेको छ । भने प्रदेश अस्पताल सुर्खेतमा मृगौला तथा कलेजो प्रत्यारोपण सेवा जस्ता कामलाई मन्त्रालयले उपलब्धिका रुपमा लिएको छ । कडा रोगमा मेजर अपरेशन गरेका १३१ जना बिरामीलाई प्रति बिरामी एक लाख सम्मको उपचार सहायता प्रदान गरिएको छ । आगामी आर्थिक वर्षमा कडा रोगमा नयाँ रोगहरू थप गरी रकम उपलब्ध गराईने तयारी छ ।

Post a Comment

Previous Post Next Post