आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका अभियुक्त काठमाडौँबाट पक्राउ

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले काठमाण्डौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दाका फरार प्रतिवादी जुम्लाका नवराज रावतलाई काठमाण्डौँको बुद्धनगरबाट पक्राउ गरिएको हो ।

 जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक डीएसपी मोहनजंग बुढ्थापाका अनुसार साउन ९ गते राति १२ बजेतिर वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कको माथिल्लो गेटमा २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कुले आँखामा प्रहार भएको थियो । 

उक्त आक्रमणबाट परियार गम्भीर घाइते भएका थिए भने आक्रमणकारी रावत घटनास्थलबाटै फरार भएका थिए । घटनापछि फरार रहेका रावतको खोजी गर्ने क्रममा उनी काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा लुकिछिपी बसेको अवस्थामा फेला परेको बुढ्थापाले बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका रावतलाई बुधबार जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराई आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान अगाडि बढाइएको डीएसपी बुढ्थापाले जानकारी दिए ।


 

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali