रुकुम पश्चिम : रुकुम पश्चिममा एक वर्षको अवधिमा आत्महत्या गर्नेको संख्या दोब्बरले बढेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दर्ता भएका आत्महत्याका घटना अनुसार आर्थिक वर्ष २०८०:०८१ को तुलनामा २०८१:०८२ मा आत्महत्याका घटना दोब्बरले बढेका हुन् । २०८०:०८१ मा जिल्लाभरमा २५ वटा आत्महत्याका घटना भएका थिए । तर बितेको आर्थिक वर्ष २०८१:०८२ मा त्यो सङ्ख्या बढेर ४० मा पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
आर्थिक वर्षमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार २०८०:०८१ मा पुरुष ८, महिला ३ र बालबालिका १० गरी २५ जनाले आत्महत्या गरेका थिए । जसमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या भएको थियो । २१ जनाले झुन्डिएर आत्महत्या गर्दा ३ जनाले विष सेवन र हतियार तथा औजार प्रयोग गरेर १ जनाले आत्महत्या गरेका थिए ।
बितेको आर्थिक वर्षमा पनि सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएका छन् । ३३ जनाले झुन्डिएर आत्महत्या गर्दा ५ जनाले विष सेवन र २ जनाले हाम फालेर आत्म हत्या गरेको डिएसपी विष्टले जानकारी दिए । गत वर्ष आत्महत्या गर्नेमा १९ जना पुरुष, ८ जना महिला र ७ जना बालबालिका रहेको उनको भनाई छ ।
आत्महत्याका कारणहरू भने विभिन्न रहेका छन् । आत्महत्या गर्नुका पछाडि मानसिक रोग, परीक्षा, व्यवसाय र प्रेममा असफल, गरिबी, बालविवाह, बेरोजगारी, पारिवारिक विवाद लगायत देखिएको डिएसपी विष्ट बताए ।
जिल्लामा पछिल्ला वर्षहरूको रेकर्ड हेर्दा आत्महत्याको चिन्ताजनक अवस्था रहेको उनले बताए । बर्सेनि आत्महत्या बढ्दै जानु समाजका लागि चिन्ताजनक विषय रहेकोले बेलैमा सबै जना यसको रोकथाममा लाग्नुपर्ने बताए । बालबालिकाले समेत आत्महत्या गरिरहेकोले यो झनै चिन्ता जनक विषय भएको डिएसपी विष्टले बताए ।
२ वर्षमा मात्र जिल्लामा १७ जना बालबालिकाले आत्महत्या गरिसकेको र यो निकै चिन्ताको विषय रहेको उनको भनाई छ । कुनै एउटा निकायले मात्र नभई सबै क्षेत्रले आत्महत्या रोकथामका लागि बेलैमा हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए । धेरै ढिलो भएमा आत्महत्याले थप विकराल रूप लिन सक्ने बताए ।
आत्महत्या रोकथामका लागि प्रहरीले अभियान समेत चलाइरहेको र विशेष गरी स्थानीय तह सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

Post a Comment