यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै कर्णालीको पहिलो जित

सुर्खेत  :   यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै कर्णाली प्रदेशले पहिलो जित हासिल गरेको छ। कर्णालीका कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट बलिङका कारण सुदूरपश्चिम सस्तैमा समेटियो। ५० ओभरको खेलमा सुदूरपश्चिम १६ ओभरमा ५५ रन बनाएर अलआउट भयो। कर्णालीका कप्तान विपिनले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन कायम राखे। चार ओभर बलिङ गरेका उनले दुई ओभर मेडन राख्दै दुई रन खर्चेर पाँच विकेट लिए। दशौं ओभरमा एक रन खर्चे। बाह्रौं ओभरमा एक रन दिएर एक विकेट लिए। चौधौं ओभरमा मेडनसहित एक विकेट र सोह्रौं ओभरमा मेडनसहित तीन विकेट लिए। सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाए। 

अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। अविरल विकले नौ, आहन थलालले पाँच, हिमाल दुयालले दुई र सचिन भट्टले एक रन बनाए। सुदूरपश्चिमले १७ अतिरिक्त रन जोडे। कर्णालीका विपिनले पाँच विकेट लिए भने विजय बोहराले तीन र नवीन न्यौपानेले दुई विकेट हात पारे। जवाफी ब्याटिङ गरेको कर्णालीले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए। नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान नौ रन जोडे। नवीन न्यौपानेले सात, ओपनर कस्तुप खड्काले चार, कैलाश खड्का र रोशन शाहीले समान एक–एक रन बनाए। यो सुदूरपश्चिमको लगातार दोस्रो हार हो। यसअघि सोमबार कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो।

Post a Comment

Previous Post Next Post