हुम्लाको सदरमुकाम सिमकोटमा केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ : प्रधानमन्त्री ओली

काठमाण्डौ : राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन । आज सामाजिक सञ्जालमार्फत उनले हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेका छन ।

हुम्लामा सडक सञ्जाल पुर्‍याउने दशकौं पुरानो सपना पूरा हुन लागेको र यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी देश चीनसँग जोडिने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौंदेखिको सपना पूरा हुन लागेको हो । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा नै शिलान्यास भएको थियो । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास गरिएको थियो ।

Post a Comment

Previous Post Next Post