भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण पुष्टि, कीट नहुँदा परीक्षणमा समस्या

कञ्चनपुर : भारतबाट फर्किएका कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक हप्तामा मात्रै १६ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको हो । 

कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हिजो पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एकरएक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६ सय ४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो । यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरू लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरू बताउँछन् । विभागले २ सय कीट पठाएसँगै प्रदेशमा अहिले ३ सय ७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकामा १ सय कीट हिजो उपलब्ध भएपछि परीक्षण शुरू भएको हो । ‘हामीसँग १ सय कीट मात्रै आएको छ यो पर्याप्त होइन’, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले भन्नुभयो, ‘अहिले नाकामा लक्षण देखिएकाहरूको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।’ उहाँका अनुसार हिजो गड्डाचौकी नाकामा सात जनाको स्वास्थ्य परीक्षण भएको थियो ।

स्वास्थ्यकर्मीहरूले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरूको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् । ‘आउने आप्रवासीहरूलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैन’, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भन्नुभयो, ‘शङ्कास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ ।’

विगतका वर्षहरूमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएकाले सरकारले नाकामा कडाइ गर्नुपर्ने स्थानीयवासी बताउँछन् । ‘गड्डाचौकी नाकाबाट आउनेहरूको कोभिड–१९ परीक्षण हुन सकेको छैन’, स्थानीयवासी पदम थापाले भन्नुभयो, ‘नाकाबाट फर्किनेहरू स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्कमा जाँदैनन्, सुरक्षाकर्मीले रोकेको देखिँदैन ।’ उहाँले भारतबाट आउने जीप, कार र बसहरू नाकामा नरोकी सीधै नेपाल प्रवेश गर्ने गरेको उल्लेख गर्दै प्रशासनले नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताउनुभयो ।

कोभिड–१९ महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना भएका छन् ।


Post a Comment

Previous Post Next Post