सुर्खेत : सुर्खेत वीरेन्द्रनगरका नवराज बोहोराले कर्णालीको भ्रष्टाचार मुद्दा लिएर ३१ दिन खाली खुट्टा पैदल हिडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेका छन । तर प्रधानमन्त्री केपी वलीले उनलाई नभेटि जुत्ता दिएर फार्काइदिएका छन ।
करिब एक महिना लगाएर सुर्खेतबाट काठमाडौँ पुगेका उनी प्रधानमन्त्री ओलीलाई भेटेर कर्णालीमा भएका भ्रष्टाचार, बेथिति र समस्या राख्न चाहन्थे । उनलाई प्रधानमन्त्री कार्यालयमा ‘गोल्डस्टार’ जुत्ता दिएर फर्काइयो ।
सुर्खेतको धुलो र गिट्टीदेखि काठमाडौँको चिल्लो सडकसम्म नाङ्गो पैतालाले नापेका नवराज व्यक्तिगत रूपमा नभई कर्णालीको मौन चित्कारलाई देशको शासकसम्म पु¥याउने प्रयासमा जुटेका थिए । नवराजको यात्रा जेठ ४ गते सुर्खेतबाट सुरु भयो । उनको उद्देश्य व्यक्तिगत थिएन । उनी अनियमितता, भ्रष्टाचार विरुद्धको अभियानका साथै सबै हिसाबले पछि परेको कर्णलीको आवाज बोकेर हिँडेका थिए । ‘मेरो अभियान जनचेतनामूलक थियो,’ प्रधानमन्त्री ओलीसँग भेट्न नपाएर निराश बनेका उनले रातोपाटीसँग भने, ‘त्यही अभियानको एउटा सांकेतिक हिस्सा थियो– खाली खुट्टाको यात्रा ।’
नवराजको साथमा एउटा झोला थियो । कुनै व्यक्तिगत स्वार्थ थिएन, थियो त केवल कर्णालीको आवाज । प्रधानमन्त्रीलाई भेटेर उनी भ्रष्टाचार बाहेक कर्णालीका मुख्य चार वटा विषय राख्न चाहन्थे– उर्जा, कृषि, स्वास्थ्य र शिक्षा । कर्णाली सरकारले कृषि क्षेत्रमा वितरण गर्ने अनुदानको बेथितिबारे उनी प्रधानमन्त्री ओलीसँग गुनासो राख्न चाहन्थे । ‘कर्णालीमा कागजमा मात्र किसान बनेर अनुदान खाने प्रवृति छ,’ उनले भने, ‘वास्तविक किसानले न अनुदान पाउँछन्, न त कतै अवसर ।’
स्वास्थ्यमा सरकारले घोषणा गरेको एक लाखको निःशुल्क उपचार काठमाडौँमा महिनौँ कुर्नुपर्दा कसरी महँगो साबित हुन्छ भन्ने पीडा उनी सुनाउन चाहन्थे । कर्णालीमा केवल दुई अस्पताल (प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा सीमित सुविधा र अन्य प्रदेशमा दर्जनौँ अस्पताल हुनुको विभेद उनको मुद्दा थियो ।
Post a Comment