सुर्खेत : गुलमोहर फूलले यति बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सडक किनारामा आकर्षक देखिएका छन ्। ढकमक्क फुलेका फूलले राजधानीमा रैनक्ता ल्याएको छ । यसो हर्दा सुर्खेत यती बेला रातो घुम्टो ओडी दुलही झैँ सिँगारिएको पनि देख्न सकिन्छ । वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, जिल्ला अदालतलगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाउँछ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ । हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाइरहेको छ ।
‘फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ,’ कुइनेपानी क्षेत्रको गुलमोहरमा फोटो खिच्दै गरेकी सुशिला केसीले भनिन्, ‘प्रकृतिको यति अनुपम दृश्य अन्त कहाँ पाइन्छ र !’उनी मात्र होइनन्, अहिले कुइनेपानी क्षेत्रको सडकछेउ फुलेको गुलमोहरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेको भीड लाग्ने गरेको छ । घण्टाघर–नगरपालिका खण्डमा यात्रा गर्ने जोकोही गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैनन् ।
ढकमक्क फुलेको गुलमोहरको बोटमुनि युवकयुवतीको सेल्फीमोह र क्यामरामा फोटो खिच्ने पनि उत्तिकै देखिन्छ । कुइनेपानी क्षेत्रमा लगाइएको गुलमोहरले प्रकृतिलाई सौन्दर्यसँगै विभिन्न पक्षी संरक्षणमा टेवा पु¥याएको छ । तत्कालीन राजा वीरेन्द्रको आग्रहमा कुइनेपानी क्षेत्रको सडक छेउमा गुलमोहर रोपिएको थियो । स्वच्छ र सफासँगै हरियाली नगर बनाउने योजनासाथ अगाडि बढेको वीरेन्द्रनगर नगरपालिकाले गुलमोहरको संरक्षण गरि ठाउँ ठाउँमा बोटविरुवाहरु पनि थप्दै गएको छ ।
Post a Comment