सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत बीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्रबाट अवलोकन गर्न सहज हुने उद्देश्यले कर्णाली सरकारले छ वर्ष अगाडिदेखि निर्माण गर्न लागेको भ्यू टावर अहिले अलपत्र अवस्थामा रहेको छ । वीरेन्द्रनगर नगरपालिका—११ को चारकुनेको जंगलमा आर्थिक वर्ष २०७५÷०७६ बाट भ्यू टावर बनाउन लागिएको हो । बीरेन्द्रनगर बजारदेखि करिव सात किमी दक्षिणमा रहेको सो स्थानमा बन्न लागेको भ्यूटावर प्रदेश सरकार फेरबदलसँगै अलपत्र छ । हालसम्म उक्त भ्यू टावरमा २५ लाखभन्दा बढी खर्च भइसकेको छ । प्रदेश सरकारले डिभिजन वन कार्यालय सुर्खेतमार्फत सुरुमा भ्यू टावर निर्माणको जिम्मा दिएको थियो । तर बजेट अभाव भएपछि भ्यू टावर अलपत्र बनेको छ । बन्दै गरेको भ्यूटावर रहेको बीरेन्द्रनगर नगरपालिका—११ का स्थानीय बासिन्दा साउने चौधरीले सुरुमा काम भएपनि तीन वर्षदेखि भ्यूटावरको काम नभएर अहिल्य अलपत्र बनेको बताए ।
भ्यू टावर बनेपछि पर्यटकहरुको आगमन हुने, आफ्नो गाउँठाउँको सानोतिनो विकास हुने आशा रहेकोमा अहिले अलपत्र बन्दा निरास बनेको उनले जानकारी दिए । भ्यू टावर अलपत्र परेपछि लाखौं रकम खेर गएको उनको भनाइ छ । यस्तै अर्का बासिन्दा समीर चौधरीले प्रदेश सरकारले समन्वय नै नगरी एक्कासी भ्यूटावरको काम अगाडि बढाएको स्मरण गरे । यदि भ्यू टावर बनाउने हो भने जतिसक्यो छिटो बनाउनुपर्ने माग गरे । अहिले भ्यू टावर अलपत्र भएपछि त्यहाँ रहेका सामानहरु पनि सवै चोरी भइसकेको, सिमेन्ट खेर गइसकेको र भ्यू टावरको पिल्लरहरु पनि खिया लाग्न थालेको उनले बताए । अग्लो डाँडाबाट सुर्खेत उपत्यका राम्ररी हेर्न सकिने भएको ठाउँमा भ्यू टावर अनावश्यक भएको भन्दै उनले अलपत्र हुँदा बजेट खेर गएको बताए । बरु सो रकमले डिप बोरिङ, कुलोमा लगाएको भए प्रशस्त तरकारी उत्पादन गर्न सकिने उनको भनाइ छ । आर्थिक वर्ष २०७५/०७६ पछिको दुई वर्षसम्म भ्यू टावर बनाउन केही रकम आएको थियो । सो रकमले काम पनि सुरु भएको थियो । डिभिजन वन कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म बजेट आएको, त्यसपछि बजेट आएन । आव २०७९/०८० मा बजेट आएपनि काम हुन सकेन । सुरुमा थोरै बजेटले काम गर्दै गएको र डिपिआरमा ६४ लाखको लाग्ने भएपछि अलपत्र परेको जनाइएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बरिष्ठ वन अधिकृत प्रशान्त श्रेष्ठले लागत बढी लाग्ने भएपछि प्रदेश सरकारबाट बजेट आउन छोड्दा भ्यू टावरको काम पनि रोकिएको बताए । उपभोक्ता समितिबाट सुरुमा काम भएको बताउँदै लागत बढी लाग्ने र बजेट नआएपछि अलपत्र परेको जनाए । बजेट नआएसम्म अलपत्र भएको भ्यू टावरको काम अगाडि बढाउन नसकिएको उनको भनाइ छ । उक्त भ्यू टावरको सुरुको डिपिआर पनि हराइसकेको बताइन्छ । नगरपालिकाले विना डिपिआर काम गर्न नसकिने जनाएको छ । बीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष खिमलाल देवकोटाले सुरुमा प्रदेश सरकारको बजेटले बनाउन थालिएको र अहिले अलपत्र पारिएको बताए । उनले डिपिआर नहुँदा नगरपालिकाले पनि जिम्मा लिन नसक्ने जनाए । प्रदेश सरकारले सुरुमा बजेट दिएकोले अपुग रकम पुनः प्रदान गरी भ्यूटावर निर्माण गर्न आग्रह गरे । अलपत्र भ्यू टावरवारे आफूले जवाफ दिँदा दिँदा हैरान भएको गुनासो उनले गरे ।

Post a Comment