घरबाटै अपहरणमा परेको बच्चा जङ्गलमा फेला

सुर्खेत : पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् ।

शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिएका छन् । उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । बच्चाको अवस्था सामान्य छ उनले भने, बाँकी अनुसन्धानबाट खुल्ला हुनेछ । यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन् ।

दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू भागेका हुन्, ती महिलाको भनाइ उदृत गर्दै स्थानीयले भने । साथै ती महिलाले खर, परालमा आफूले आगो नलगाएको पनि बताएकी छिन् । गएराति ९ बजेतिर सबै घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर गरे । त्यसपछि बमबहादुरका श्रीमान्–श्रीमती छोरा, छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गए ।

उनीहरू घरमा आएर हेर्दा छोरी छैन, बमबहादुरका दाजु दीपकले भने, खोजी कार्य गर्दा कतै भेटिएन । हामीले पराल,खरमा आगो लगाएर हामीलाई उता भुलाएर कोही व्यक्तिले लगेर भागेको शङ्का लाग्यो । त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरेको उनले जानकारी दिए।


Post a Comment

Previous Post Next Post