सुर्खेत : नेपाली सेनाको उत्तर पश्चिम पृतना मुख्यालयले आफ्ना युद्धकौशलका उपकरण तथा सामग्रीहरुको प्रदर्शनी गरेको छ । शनिवार रन फर युनिटी (एकताका लागि दौड) प्रतियोगिताको आयोजनामा आफ्ना युद्धकौशलका उपकरणहरु पनि प्रदर्शनी गरेको हो ।
नेपाली सेनाले विगतमा द्वन्द्वकालमा प्रयोग गरेका हतियारहरु, बम डिस्फोज गर्ने उपकरणहरुका साथै विपद्मा प्रयोग हुने सामग्रीहरु पनि प्रदर्शन गरेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी कृष्णदेव भट्ट, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाललगायतले सेनाका हतियार, उपकरण र सामग्रीहरुको अवलोकन समेत गरका थिए ।
पृतना मुख्यालका प्रवक्ता सेनानी रेणु शाह पालले विगत तीन वर्षदेखि नेपाली सेनाले रनफर युनिटीका साथै आफ्ना युद्ध सामग्रीहरुको प्रदर्शन गर्ने गरेको बताए। महत्वपूर्ण व्यक्तिहरुका साथै सर्वसाधारणले पनि सेनाका युद्ध हतियार सामग्री, विपदका उपकरणलगायतका बस्तुहरुको अवलोकन गर्न पाउन् भनेर प्रदर्शनीमा राखिएको उनको भनाइ छ । सर्वसाधारणले पनि ती सामग्रीहरु चासोका साथ अवलोकन गर्दै त्यसको वारेमा बुझेका थिए ।
यसैवीच रन फर युनिटीका विजेताहरुलाई पनि सो अवसरमा नगद पुरस्कारसहित मेडल प्रदान गरिएको छ । महिला र पुरुषको पाँच किलोमीटर दौड, १० किमी दौड र २१ किलोमीटर दौडको आयोजना गरिएको थियो । जसमा पाँच किमी दौडमा महिलातर्फ प्रथम कल्पना बुढा, द्वितीय विमला कार्की र तृर्तीय उर्मिला खनाल भएकी छिन । यस्तै पाँच किमी दौड पुरुषतर्फ प्रथम अजय विक, द्वितीय दिपेन्द्र बोहोरा र तृतीय सुज विक भएका छन ।
१० किमी दौडको महिलातर्फ प्रथम आशा रावत, द्वितीय समीता बुढा र तृतीय राज्यलक्ष्मी रावल तथा पुरुषतर्फ प्रथम धीरबहादुर बुढा, द्वितीय सन्दीप नेपाली र तृतीय अक्कल बुढा भएका छन । २१ किमी दौडमा प्रथम दलबहादुर कुँवर, द्वितीय सन्तोषनाथ योगी र तृतीय आशीष गुरुङ भएका छन । कर्णालीमा दौडलाई पहिचान गराउन, स्वास्थ्य र विकासका लागि नेपाली सेनाले विगत तीन वर्षदेखि रन फर युनिटीको आयोजना गर्दै आएको उत्तर पश्चिम पृतना मुख्यालयले जनाएको छ ।
.jpg)

Post a Comment