सुर्खेत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचन सामान्य अघिपछि हुने निर्वाचनजस्तो नभएको बताएका छन् । आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै चुनाव नभएको बताए हुन।
‘ देशको भाग्य भविष्य निर्धारण गर्ने चुनाव हो यो, त्यसैले राजनीतिक रंगमञ्चमा यो चुनावले विशेष अर्थ राख्ने महासंग्रामका रुपमा बुझ्नुपर्छ’, ओलीको भनाइ छ । उनले देश बचाउने, देशको सार्वभौम सत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको भन्दै गठबन्धनले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता छक्कयाउन र अल्मल्याउन लागि परेको बताए ।
उनले देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर पार्ने प्रयास गरिएको तर एमाले कमजोर नहुने दावी गरे । ‘देशी विदेशी प्रतिक्रियावादी शक्ति मिलेर एमालेविरुद्ध मोर्चावन्दी र घेरावन्दी गरिरहेका छन् । सय वटा स्यालले पनि एउटा सिहलाई घेरावन्दी गर्न सक्दैनन्’, ओलीको भनाइ छ । उनले निर्वाचनमा गठबन्धनलाई सचेत नेपाली जनताले मुखभरीको नभएर मुखमै नअटाउने जवाफ दिनुपर्ने भन्दै ५ पटक प्रधानमन्त्री भएर देशका लागि एउटा काम के गर्नुभो भनेर प्रश्न गरे ।
‘शेरबहादुरजीलाई म भन्न चाहन्छु– उभिएका ठाउँबाट दायाँबायाँ, अगाडि र पछाडि हेर्नुस्, एमालेले गरेका काम देख्नुहुन्छ’, त्यहाँ पनि नदेखे महिला र स्कुल जाने बालबालिकालाई सोधे एमालेले गरेका काम थाहा पाउने बताए ।
ओलीले देशमा जति काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो । अहिले दिनको १३३ रूपैयाँ दिने पनि एमाले नै हो, उनको भनाई थियो ।
यस्तै ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्नेबारेमा सल्लाह गरिराख्न सुझाव दिए । उनले भने,‘ अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’ उनले प्रचण्डलाई राजनीति बिचौलियाको संज्ञा दिए ।

Post a Comment