समानुपातिक तर्फको बन्दसूची संशोधनको समय आज सकिँदै

   काठमाण्डौ : मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूची संशोधनको समय आज सकिँदैछ । दलहरूले यसअघि बुझाएको सूचीलाई संशोधन गर्नुपर्ने भएमा संशोधित सूची बुझाउन आयोगले आजसम्मको समय दिएको हो । 

आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । 

दललाई असोज १० गतेदेखि परिमार्जित सूची पेस गर्न भनिएको थियो । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगका सचिव एवम् समानुपातिक प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले बताए । 

समानुपातिक प्रणालीमा ६८ दलले भाग लिएका छन् । संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते अर्थात् भोलि बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने ठाउँमा सोही समूहले अर्का उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । 

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम पनि सुरु भएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने छन् ।

Post a Comment

Previous Post Next Post