विकासलाई प्राथमिकता दिँदै वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ७१ करोडको बजेट

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट ३२ करोड ७५ लाख रुपैयाँले बढी हो।

बुधबार बसेको १९औँ नगरसभामा उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै कुल बजेटको ६४ प्रतिशत अर्थात् ३ अर्ब २ करोड ७० लाख रुपैयाँ विकास निर्माण (पुँजीगत)तर्फ विनियोजन गरिएको जानकारी दिए। चालु खर्चका लागि १ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ अर्ब ३८ करोड रुपैयाँको बजेट ल्याएको थियो।

बजेटको मुख्य स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँट रहेको छ। संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँट गरी ठूलो हिस्सा प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट पनि समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँटको रकम प्राप्त हुने जनाइएको छ। त्यसैगरी स्थानीय राजस्व, आन्तरिक आम्दानी, समपूरक तथा विशेष अनुदान र चालु वर्षको बचत रकम पनि बजेटका स्रोतका रूपमा राखिएको छ।

बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ। खानेपानी, सुशासन तथा भेरी पम्पिङ आयोजनाको सञ्चालन र व्यवस्थापनका लागि १८ करोड रुपैयाँ छुट्याइएको छ। वडास्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख र नगरस्तरीय विभिन्न आयोजना तथा कार्यक्रमका लागि १४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख खनालले बताए।

यसअघि नगरप्रमुख मोहनमाया ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। नीति तथा कार्यक्रममा वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणा गर्ने तयारी, ‘नलेज बैंक’ स्थापना, शैक्षिक सुधार वर्ष, विद्यालयमा एआई शिक्षा, डिजिटल शिक्षक बैंक, २ करोड रुपैयाँको छात्रवृत्ति कोष, कृषि उद्यमीलाई थप अनुदान, बाँझो जग्गाको उपयोग, स्टार्टअप प्रवर्द्धन, विशेष पर्यटकीय क्षेत्र विकास, डिजिटल सेवा विस्तार, गर्भवती महिलालाई निःशुल्क सेवा, ‘मनको चौतारी’ कार्यक्रम, सडक बालबालिकामुक्त नगर, एकीकृत नगर बस सेवा, आकाशे पुल तथा छोरी बचत खातामा थप रकम उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

Post a Comment

Previous Post Next Post