ग्रीनल्याण्डले गर्यो उत्कृष्ट विद्यार्थीसँगै पत्रकार र कलाकार सम्मानित

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–३ तातापानीमा रहेको ग्रीनल्याण्ड एकेडेमीले माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८२ मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको छ । लगातार तेस्रो वर्ष पनि उत्कृष्ट नतिजा कायम राख्न सफल विद्यालयले यस वर्ष दुई विद्यार्थीबाट ४ जीपीए ल्याउन सफल भएको जनाएको छ । 

विद्यालयले शैक्षिक उपलब्धिसँगै शिक्षा, पत्रकारिता र कला क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै ‘ग्रीनल्याण्ड शिक्षा पत्रकारिता पुरस्कार–२०८२’ र ‘मोतिपुरा स्मृति प्रतिभा पुरस्कार–२०८२’ समेत प्रदान गरेको छ । शनिबार विद्यालयमा आयोजित सम्मान तथा अभिभावक उत्प्रेरणा कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, पत्रकार र कलाकारलाई नगद, प्रमाणपत्र, माला तथा दोसल्लासहित सम्मान गरिएको हो ।

विद्यालयले यस वर्षको एसइईमा सहभागी सबै ३० जना विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । छात्र विमल तिमिल्सेना र छात्रा सन्ध्या खड्काले ४ जीपीए प्राप्त गरेका छन् भने अन्य विद्यार्थीले ३ देखि ३।९५ जीपीएसम्म ल्याएका छन् । कार्यक्रममा दुवै विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । विद्यालयका अनुसार २०८० सालदेखि एसइईमा सहभागिता जनाउन थालेको ग्रीनल्याण्डले पहिलो वर्षमै कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको थियो । उक्त वर्ष छात्रा स्मारिका शाहीले ३।९५ जीपीए ल्याउँदै छात्रातर्फ कर्णाली प्रदेश प्रथम बनेकी थिइन् । त्यसयता विद्यालयले निरन्तर शतप्रतिशत नतिजा कायम राख्दै आएको जनाएको छ ।

यसै अवसरमा विद्यालयले स्थापना गरेको ‘ग्रीनल्याण्ड शिक्षा पत्रकारिता पुरस्कार–२०८२’बाट पत्रकार ९हिमाल प्रेसकर्मी० रमा केसी सम्मानित भएकी छन् । यस्तै, ‘मोतिपुरा स्मृति प्रतिभा पुरस्कार–२०८२’ बाट कलाकार नन्दा बस्याललाई सम्मान गरिएको छ । विद्यालयका अनुसार शिक्षा, पत्रकारिता र कलामार्फत समाजमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो । विद्यालय क्षेत्रबाट यस्तो प्रकृतिको पुरस्कार कर्णाली प्रदेशमै पहिलोपटक स्थापना गरिएको विद्यालयको दाबी छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्धक प्रकाश शाहीले विद्यालय अरूसँगभन्दा आफ्नै नतिजासँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको बताए । उनले विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक मेहनतका कारण निरन्तर सकारात्मक नतिजा हासिल भइरहेको उल्लेख गरे । गुणस्तरीय शिक्षण पद्धति, अनुशासन र विद्यार्थीमैत्री वातावरणलाई विद्यालयले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले समयअनुकूल शिक्षण प्रणाली र प्रविधिमैत्री अभ्यासलाई विद्यालयले प्राथमिकता दिएको बताए । उनले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक सिकाइलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

त्यस्तै कार्यक्रममा रंगकर्मी प्रेमदेव गिरीले विद्यालयले विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा भूमिका खेलेको बताए । विद्यालयका प्रधानाध्यापक ज्योती पौडेलले विद्यालयले १३ वर्षको यात्रामा विभिन्न चुनौती पार गर्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिएको बताइन् । शैक्षिक उपलब्धिसँगै सहशैक्षिक र अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले राम्रो प्रदर्शन गर्दै आएको उनको भनाइ थियो ।

हाल विद्यालयमा पीजीदेखि कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको छ । स्थापना हुँदा ३३ विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले झण्डै १३ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले आगामी वर्ष व्यावसायिक शिक्षासहित प्लस–टु कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

विद्यालयमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, स्मार्ट कक्षा, खेलमैदान, क्यान्टिन र बस सेवा सञ्चालनमा छन् । शिक्षक र विद्यार्थीबीच अन्तरक्रियामूलक सिकाइ, डिजिटल टुल्सको प्रयोग तथा प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइँदै आएको विद्यालयले जनाएको छ ।

हाल विद्यालयमा ४० भन्दा बढी शिक्षक कार्यरत छन् । अतिरिक्त क्रियाकलापअन्तर्गत वादविवाद, विज्ञान प्रदर्शनी, खेलकुद, नृत्य, संगीत तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विद्यालयले धूम्रपान तथा मद्यपानविरुद्ध सचेतना, महिनावारी सरसफाइ, वृक्षारोपण, स्वास्थ्य परीक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ ।

यस्तै, अभिभावक उत्प्रेरणा कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन र विद्यार्थीमैत्री वातावरणको प्रशंसा गरेका थिए । विद्यार्थीको पढाइसँगै व्यवहार, नेतृत्व विकास र अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले ध्यान दिएको उनीहरूको भनाइ थियो । अभिभावकहरूले शिक्षक र विद्यालय प्रशासनसँग नियमित समन्वयले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव परेको बताएका थिए । कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरिएको थियो ।

विद्यालयले आर्थिक रूपमा कमजोर बालबालिकासँग सम्बन्धित सामाजिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ । भौतिक पूर्वाधार विस्तारअन्तर्गत २५ कोठे नयाँ भवन निर्माण सम्पन्न भइसकेको विद्यालयले जनाएको छ । साथै खेलकुद र सिर्जनात्मक क्षेत्रमा रुचि भएका विद्यार्थीलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको विद्यालयको भनाइ छ ।




Post a Comment

Previous Post Next Post