सुर्खेत : आर्थिक रूपमा विपन्न वीरेन्द्रनगर नगरपालिका— ७ की २१ वर्षीया उषा विकले चटपटे बचेर वार्षिक आम्दानी सात लाख भन्दा बढी कमाउने गरेकी छन् । उनले चटपटेबाट दैनिक २ हजारदेखि ३ हजार रुपियाँसम्मको आम्दानी गर्छिन् । गाउँमा एक उदाहरणीय युवा उद्यमीका रूपमा परिचित उनले खुद्रा पसलसँगै चटपटे बनाउने व्यवसाय विस्तार गरेकी छन् ।
व्यवसाय गर्ने सीप हँुदा भएपनि आम्दानी नहुँदा केही सोच्न नसकी विकले सानो आर्थिक सहयोग पाएपछि चटपटे बेचेर मासिक रुपमा २५ हजार भन्दा बढी बचत गर्न थालेकी छन । उनले भनिन्, ‘आफु पढ्नका लागि पनि अरुको भरमा बाँच्नुपरेको थियो । तर दलित महिला संघमार्फत महिलाहरूलाई विभिन्न व्यवसायिक तालिम, आवश्यक प्रारम्भिक लगानी तथा समुहगत सहकार्यको माध्यमले अहिले स्वरोजगार बन्न सफल भएकी छु ।’ दलित महिला संघले बाख्रापालन, कुखुरापालन, भैँसीपालनदेखि खुद्रा व्यवसायसम्मका कार्यक्रमहरू विभिन्न समयमा सञ्चालन गरेको थियो । त्यसमा आफु पनि सहभागी भएर व्यवसायी कसरी बन्न सकिन्छ, आफुले कुन व्यवसायलाई अघि बढाउन सकिन्छ भन्नेबारे जानकारी लिइसकेपछि संघकै आर्थिक सहयोगमा आफु सक्षम भएर व्यवसाय गरेको उनले बताइन् । महिलाहरुलाई उद्यमी बन्नलाई आँट र हौसलाको आवश्यता पर्छ, मलाई काम गर्ने हौसला र सानो रकम सहयोग दिएपछि अहिले राम्रोसँग व्यवसाय गरिरहेको उनले बताइन् ।
आम्दानी नहुँदा धेरै पीडा भोग्नुपरेको स्मरण गर्दै उनले अहिले व्यवसाय गरेर सानो तिनो आम्दानी हुन थालेपछि अरुले गर्ने व्यवहारमा पनि परिवर्तन आउँदो रहेछ भन्ने महसुसस गरेकी छन् । उनी भन्छिन्, ‘जेठो सन्तान भएर जन्म लिएपछि घरको सबै जिम्मेवारी आफ्नो काँधमा आउँदा आफ्नो भन्दा परिवारको बारेमा धेरै सोचेर खर्च गर्नुपर्दाे रहेछ, अहिले आफ्नो पढाई खर्च, भाइबहिनीको पढाई खर्च संगै घर खर्च चलाएर पनि चटपटे व्यवसायबाट मासिक २५ हजार रुपैयाँसम्म बचत गर्न सफल भएको छु ।’ काममा ध्यान दिएर गर्ने हो समय अनुसारको कमाई पनि राम्रो हँुदो रहेछ भन्ने उनलाई लागेको छ ।
दिउँसो बेच्ने चटपटेका लागि चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु उनको पहिलो काम हो । युवापुस्ता र विद्यालय जाने बालबालिकाहरु चटपटेको कुरा गर्ने बित्तिकै उषालाई सम्झन्छन् । वीरेन्द्रनगरको राजधानीमा बसेर केही महिनादेखि निरन्तर चटपटे बेच्दै आएको उनले सुनाइन् । उनले भनिन्, ‘सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागीराखे त्यहीबाट जीवनलाई सफल बनाउन र आफु सक्षम बन्न सकिने रहेछ ।’ चटपटेबाटै उनको घरखर्च चलेको छ । भाइबहिनीको पढाई खर्च र बुवाआमाको रेखदेखमा चटपटेको आम्दानीले सहयोग पुगेको उनले सुनाइन् । अहिले सम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने पैसा भएको उनको भनाइ छ ।
निरन्तर रुपमा लगनशील भएर लागेपछि चटपटे व्यापारले घर व्यवहार चलेर सम्पत्ति जोड्न सकिन्छ कि भन्ने आशाा उनीमा छ । उनको पसलमा चना, भुजिया, मटर, भटमास, मसला, नुन खुर्सानी, टमाटर, कागती र काँक्रा हुन्छ । यिनै कुरा मिसाएर चटपटे बनाएर वीरेन्द्रनगरका बासिन्दालाई मुख मिठ्याउने सीप उनीसँग छ । उनले दैनिक रुपमा चटपटे बेचेर त्यसैबाट आम्दानी गरेको रकम स्थानीय सहकारीमा बचत गर्ने गरेकी छन् । उषाको चटपटेका पाराखीहरु लोभ्याउने चटपटे बनाउने भएकैले उनकोमा चटपटे खान सधँै आउने गरेको चटपटे खान आएकी मिना विश्वकर्माले बताइन् ।
दैनिक सात सय रुपियाँको सामान हाल्दा दुई हजार रुपियाँसम्म दैनिक आम्दानी हुने गरेको उनको भनाइ छ । उषा र उनको आमाले चटपटे बेच्दै आएका छन् । सानो काम र ठुलो काम छुट्याउनेलाई उषा एक उदाहरण बनेकी छन् । चटपटे बेचेरै उषाले सानो कामबाटै राम्रो आम्दानी मात्र गरेकी छैनन, उनले घर, परिवारको रेखदेख र खुशीलाई सँगसँगै अगाडि बढाएकी छन् ।

Post a Comment