सद्भाव ,मनोरञ्जन र मेल मिलापको पर्व दशैँ - चन्द्र रावत " गुराँस"

बर्षाले भित्र भित्रै रुजाएको वन,जंगल,पाखा पखेराले,शरद्को न्यानो घाम तापिरहेको बेलामा निलो आकाशमा बादल फाड्दै कपास झै फुरफुर उडेको देखिन्छ । बर्षामा मानो खाएर मुरी उब्जाउन खेतबारीमा संघर्ष गरिरहेका मान्छेहरु आप्ना परिवार आफन्त र गाउँलेहरुसंग भेटघाट गर्दै मिठो मसिनो खाएर भलाकुसारी गर्ने चौतारी हो दशैँ । जाँगर र सिपले आर्जन गरेर यतिबेला सुन्दर कपडा लगाउने वा गरगहना आभुषण र बस्त्र पहिरन गर्ने अनि परिश्रमी हातहरुले लगाएकाने बाली र पालीएका पशुपंक्षिले गर्दा अपूर्णतालाई परास्त गर्दै पूणतालाई आभाष दिने पर्व हो दशैँ ।

लहरै मिलेका सेता दाँत देखाएर हिमाल हाँसेको अनि हरिया पहाड र पहेँलपुर धानको फरिया लगाएर नाचेको मधेशलाई हेर्दा लाग्छ यतिबेला विश्व सुन्दरी प्रतियोगिता जितेकी सुन्दरी जस्तै सुन्दर देखिने नेपालमा दशैँ एउटा मनोरम मौशम भित्रको मनोविज्ञान हो ।मेची देखि महाकाली सम्म जताततै आत्मसात गरीएको यो पर्वमा जातिय र सांस्कृतिक सु्गन्धलाई अझै फराकिलो बनाउँदै जानु पर्दछ । जसरी समयले कोल्टे फेर्दै जान्छ ।त्यसरी नै दशैँलाई पनि बहुजाती,बहुभाषि,बहुधार्मिक नेपालीहरुको विविधता र विशिष्टतालाई आत्मसात गर्दै सबैप्रति सद्भाव,स्नेह र खुसी बाँड्ने पर्वकारुपमा दशैँलाई मनाउनु पर्दछ ।

बर्षाको बिदाइ र शरद्को आगमन संगै शारदीय शान्त वातावरणमा आउने दशैँ संग नयाँ बाली भित्र्याउन ठिक्क पारेको किसानको हाँसो उसैमा मिसिएको हुन्छ । सुन फुलेझै खेतका गरा र समथर फाँटमा धानका बाला झुलीरहेका हुन्छन् । बारिमा तरकारी र फलफूल लटरम्म फलेका हुन्छन् । जीजीविषका लागि टाढा— टाढा प्रदेश गएकाहरुसंग मिलनको पल्लवित हाँसो मुस्कुराउँछ । त्यसैले दशैँ अनेकौ सुन्दर्ता,विशिष्टता र महत्व बोकेको पर्व हो भन्ने आधारहरु छन् ।

मिथक वा बिम्बहरु

दशैँ संग अनेकौ विम्व वा मिथकहरु जोडिएका छन् ।अन्याय माथि न्याएको विजय वा असत्य माथि सत्यको विजय हुन्छ भन्ने मनेसामाजिक संदेश बोकेको यो चाडमा विशिष्ट साँस्कृतिक महत्व त छँदै छ । धार्मिक,सामाजिक,आर्थिक जुनसुकै कोणबाट दशैँको महत्व गाउन सकिन्छ । सद्भावको चाड,शक्ति पूजाको पर्व,एकताको चाड,हरेक नेपालीलाई एकाकार गर्ने चाड हो दशैँ । माता दुर्गाले महिषासुर नाम गरेको दैत्यलाई बध गरेर मानव जातीको कल्याण गरेको भन्ने किम्बदन्ती छ ।दशैँलाई श्रीरामको विजय उत्सवको रुपमा मनाईयोस वा दुर्गापूजाको रुपमा मनाइयोस्,जे भए पनि समस्त मानव कल्याणका लागि विरता प्रकट होस । निरंकुस सत्ता ढलोस । भन्ने उध्येस्यले दशैँको उत्सव पर्व सुरुभएको हुनुपर्दछ । दशैँ पर्वले दश प्रकारका पापहरु—काम,क्रोध,लोभ,मोह,मद,मन्सर,अहंकार,आलस्य,हिंसा र चोरीलाई पूर्णरुपमा त्याग्नु पर्दछ भन्ने सांस्कृतिक मान्यता राख्दछ ।

मिलनको पर्व

कमाउनु वा धन सम्पती आर्जन गर्नु मात्रै ठूलो कुरा होईन । धन सम्पतीले मात्र मानिस कहिल्यै खुसी हुन सक्दैन । कमाएको केही अंस आप्नो परिवारको खुसीको लागि खर्च गर्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । देश भित्र वा देश बाहिर जहाँ भए पनि मानिसहरु आ–आप्नो धन्दा व्यबसायमा ब्यस्त भएका हुन्छन् । बाध्यता र विबस्ताले बाहिरिएका नेपालीहरुले आपनो घर सम्झने पर्व हो दशैँ । कमाउन विदेशतिर गएका लाहुरेहरुले सबैभन्दा बढी घर सम्झने बेला नै यही हो । हजुर बा,बाआमा,छोराछोरी,भाइ, बहिनी,ठूला बा ठूलीआमा,काका काकी,मामा माइजु अर्थात परिवारजन,आफन्तजन् र गाउँलेहरुसंग भलाकुसारी गर्न नपाएर तिर्खाएकाहरु धमाधम आप्नो बस्तितिर फर्किन्छन् । हजुर बा हजुर आमाले सन्तानका बगाल आप्नो वरिपरी राखेर टिका र जमरा लगनउँछन् अनि आशिष दिन्छन् । जीवन भोगाईका क्रममा जानी नजानी आफन्तसंग सम्बन्ध बिग्रन्छ वा चिसन्छि । चिसिएको सम्बन्धलाई न्यानो बनाउने र न्यानो सम्बन्धलाई अझै प्रगाढ बनाउने अवसर पनि दशैँ हो ।

स्त्रि शक्तिको कदर

दशैँलाई दशैँ,विजया दशमी,बडा दशैँ,दशहरा,आयूध पूजा,नवरात्री जस्ता नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राखेर दशमीका दिन सम्म हर्षो उल्लासका साथ मनाइने भएकाले यो पर्वलाई विजया दशमी भनिएको हो । प्रतिपदा वा घटस्थापनाको दिन देखि कोजाग्रत पूर्णिमा सम्म दशैँ मनाइन्छ । नवरात्रभरी देवी भगवती वा दुर्गा माताका बिभिन्न रुपहरुको पूजा तथा आराधना गरिन्छ । यो महिमा र गरमिाको बर्णनले इतिहासको कुनै कालखण्डमा नारीहरु वा स्त्रि जातीको शक्ति र त्यससंग सम्बन्धित पक्षको उचित कदर गरिएको स्पस्ट बुझिन्छ । सन्तानलाई संसार देखाउने,संतानलाई चनेखो माया दिने,संतानलाई अनेकौ दुःख कष्ट र कालबाट बचाउने हाम्री मातालाई हामीले देवीकै रुपमा पूजा गर्नु पर्दछ ,भन्ने संदेश यही पर्वबाट मिल्दछ । त्यसैले त भनिएको छ भयो भवानीको पूजा,चल्यो आनन्दको बर्षा ।

खाना वा भोजनसंग जोडीएका कुरा

‘दशैँ आयो खाउला पिउला ।’

वास्तबमा शक्ति आर्जनको प्रमुख स्रोत खाना नै हो । कुन कुरा खान मिल्छ र कुन कुरा खान मिल्दैन त्यो त धेरथोर सबैलाई थाहै छ । खानाले नै जीवित प्राणीको जीवन रक्षा गर्छ । बृदि र विकास गर्छ । खानाले नै जीवन बचाउँछ । तसर्थ वर्षभरी काएको नगदले मन फुकाएर उपभोगका समान जुटाउने अनि गाउँ ठाउँ र समाज अनुसारका मिठा मिठा खानेकुरा बनाएर खाने पर्व हो दशैँ । बजारमा पैसा जान्छ भने घरघरमा अन्न फलफूल दूध,दही जस्ता खाध्यान्न घरघरमा पुग्दछन् । अझै भन्नु पर्दा नेपाल सरकारले सरकारी जागिरेहरुलाई एक महिनाको दशैँ खर्च दिएर लामो छुट्टि पनि दिने गरेको छ । यस कार्यले दशैँको महत्वलाई अझै उजागर बनाईदिएको छ । निजि कम्पनि वा संथामा काम गर्नेहरुलाई पनि दशैँ खर्च उपलब्ध गराउने चलन पनि छ ।दशैँको खाना संगै जोडिएको अर्को प्रसंग हो ‘बली’ । दशैँको समयमा देसका बिभिन्न सक्तिपिठहरुमा चलनअनुसार कतै राँगा कतै बोका कतै सुँगुर र कुखुरा बली दिने चलन छ । रगत देवतालाई चढाउने र मासु मानिसहरुले खाने गर्दछन् ।

भन्ने त गरिन्छ जीव जनावरको हत्या गरि मासु खानु महा पाप हो । तर यसलाई बली नभनेर खानाको रुपमा हेर्ने हो भने मानिसलाई आबस्यक पर्ने प्रोटिन,भिटामिन जस्ता तत्वको पुर्ती गर्ने देखिन्छ । बधसालामा देशैभर हजारौँ राँगा, खसी,बोका र कुखुरा काटिन्छन् । हजारौँ संख्यामा रहेका होटेल रेष्टुराँहरुमा मासु नपाकेको साहेत दिन हुदैन । त्यसैले बली चढाउनु भनेको भगवान खुसी पार्नु मात्रै नभइ पौष्टिक आहाराको रुपमा हेर्दा अझै महत्व झल्किन्छ । बर्षको एकपटक वा कहिलेकतै देवताको मन्दिरमा बलि चढाई प्रसादको रुपमा मासु खानु भनेको मनोबैज्ञानिक रुपमा पनि स्वास्थ्यका लागि लाभदाएक छ ।

दशैँको टिका

दशैँमा ठूलाले सानालाई टिका लगाएर आशिष दिन्छन् । रातो टिका शुभ साइतको प्रतिक मानिन्छ । घरबाट प्रदेशतिर जादा राता थोपाहरु निधारमा टाँस्ने प्रानै चलन छ ।त्यस्तै विबाह ब्रतिबन्ध र पूजामा पनि रातो टिका लगाईन्छ । नयाँ कामको सुरुवात गर्दा,घर भवन सिलान्यास गर्दा पनि रातो टिका छुटाउदैनन् । त्यसैले त भन्ने गरिन्छ रातो राम्रो गुलियो मिठो । हिन्दु संस्कारमा कसैको परिवारमा कुनै सदस्यको मृत्यू भएमा सो परिवारमा वर्ष दिन सम्म रातो टिका बर्जित गरिन्छ । तसर्थ दशैको रातो टिकामा बैज्ञानिक तथा मनोबैज्ञानिक महत्व रहेका पाइन्छ । जसरी बनैभरी रातो गुराँस फुलिरहँदा पहाडी लेकका वनहरु रमाइलो देखिन्छन् त्यसरी नै दशैँको रातो टिका खुसी आनन्द र शक्तिको प्रतिक मानिन्छ । अर्को तर्फ शक्ति दिने अन्नहरु चामल र जौलाई प्रयोग गरी टिका र जमरा बनाई मानव शरिरको सबैभन्दा माथिल्लो अंगमा पहिरनु भनेका हाम्रा प्रमुख अन्नबालीको महत्वलाई झल्काउनु पनि हो । दशमीको दिनदेखि कोजाग्रत पूर्णिमा सम्म दशैँको टिकालाई नवदुर्गा भवानीको प्रसादको रुपमा लगाईन्छ । जसले मन मस्तिस्क र विचारलाई शुद्घ तुल्याउछ ।

जमरा

बडा दशैँको पहिलो दिन घरको अँध्यारो कोठामा अर्थात सूर्यको प्रकाश नपर्ने ठाउँमा सुद्घ माटोमा जौ छरेर जमरा उमार्ने गरिन्छ । धर्मशास्त्रका अनुसार जमरा राख्ने कार्यलाई समृद्घिको प्रतिक मानेर नवरात्रभरी पूजा गरिन्छ । संस्कृतमा जौलाई ‘यब’ भनिन्छ । जौ भिटामिन प्रोटिन र कार्बोहाइड्रेड पाइने खाध्य पदार्थ हो । त्यसकारण स्वास्थ्यका दृष्टिले जौँको महत्व उत्तीकै रहिआएको छ । बैज्ञानिक दृष्टिले पनि जमराको छुट्टै रहेको छ । सात दिाको जमराको रस खाने हो भने रत्तचाप,क्यान्सर र मधुमेह जस्ता रोगहरुलाई फइदा गर्दछ । साथै जमराको रस कम्जोर नातागत भएको ब्यक्तिले नियमित सेवन गरे शक्ति मिल्दछ । दशैँको जमरा सुरुमा त मूलघरका मूख्य ढोकामा लगाइन्छ । अर्थात देवी देवताको मन्दिरमा गएर कुलदेवतालाई अर्पण गरेर आफूभन्दा ठूला मान्यजनबाट टिका थापेर जमरा लगाउने चलन छ ।

पिङ

जीवनमा एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यतालाई शिरोधार गर्दै दशैँमा पिङ हाल्ने र मच्चिने गरिन्छ । दशैँमा हरेक टोल बस्तिमा पिङ हालिएको पाइन्छ । बाबियोको डोरीको पिङ बाँस वा अन्य काठको लिङगोमा बाँधेर पिङ हालिन्छ । पिङ पृथ्वी भन्दा माथिको ठाउँ हो । जहाँ मान्छे भूँइ भन्दा माथी हुन्छ । तेसैले त भन्ने गरिन्छ खुसीले भूँइमा खुट्टै छैन । अर्थात पिङ खुसी भएपछि खेलिन्छ । खुसीले खुल्ला आकासमा उडेको पंछी झै शरीरलाई आकाशमा उडाउनु पिङको मनोबैज्ञानिक प्रशङग हो । स्वस्थ्यका दृष्टिकोणले पनि पिङ खेल्नु राम्रो मानिन्छ । यो शारीरिक कसरत पनि हो । दशैँमा शरीरलाई पचाउन गह्रो हुने खानालाई पिङ खेलेर पचाउने एक लुप्त तरिका पनि हुन सक्छ । दशैँको पिङमा भेदभाव रछुवाछुत पनि हुँदैन । जो कोही जाती र समुदाएका मानिसले पनि पिङ खेल्न पाउँछन् । पाहुनाहरुलाई त अँझ विशेष ग्राहयता दिइन्छ । हिन्दु धर्मालम्बि बाहेकका मानिसले पनि दशैँको पिङ खेल्न पाउनुले यसमा धार्मिक सहिष्णुता देखिन्छ ।

अन्तमा

चाडपर्व मानिसले सृजना गरेका हुन् । मानव पूर्खाको अनुभव र अनुभूतीबाट संस्कृतिको निर्माण भएको हुन्छ । दशैँमा टिका थाप्ने जमरा लगाउने आशिष दिने र लिने, पिङ खेल्ने,बली चढाउने,मिठो मसिनो खाने,प्रदेसीहरु घर फर्कने,कर्मचारीले छुट्टि पाउने यी तमाम कार्यहरु हाम्रा परम्परा मात्र होइनन् । यसैमा हाम्रा जीवनका अमुल्य मान्यताहरु लुकेका छन् । यिनीहरुको विशिष्ट अर्थ र महत्वलाई पत्ता लगाउँदै शास्वत सत्यलाई नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्न सक्नु पर्दछ । जस्तै दशैँको आर्शिबादलाई ब्यबहारीक पक्षबाट हेरौँ । सन्तानको उन्नती,प्रगती र दिर्घायूको इच्छा हरेक अभिभावक तथा मान्यजनहरुले गरेका हुन्छन् । त्यही इच्छालाई दशैँमा टिका र जमरा लगाएर पुकार गर्ने गरिन्छ । यसरी संकृति,सभ्यता र परम्पराको अथाह महत्व बोकेको दशैँ पर्वले समृिद्घ,सद्भाव हर्षोल्लास र खुसियाली ल्याओस् । विजया दशमीको सबैमा शुभकामना ।





लेखकको परिचय

चन्द्र रावत " गुराँस" 

दुल्लू नगरपालिका ७ ,दैलेख

     अध्यक्ष 
 भेरी साहित्य समाज शाखा,दैलेख
         
उहाँ २ दशक अगाडी देखी साहित्य क्षेत्रमा संलग्न हुनुहुन्छ ।
 उहाँका धरापमा परेका इच्छाहरू (कथा संग्रह) र
 भत्किएको मन (गजल संग्रह) 
प्रकाशन भइ बजारमा उपलब्ध छन ।

Post a Comment

Previous Post Next Post