सुर्खेत : आफूलाई ‘पाथिभरा माता’ भनेर चिनाउने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।
झारफुक तथा हेराई–मनाई गर्ने बहानामा थापाले एक महिलामाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुर्खेत प्रहरीले गत १३ साउनमा वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय थापालाई पक्राउ गरेको थियो।
थापासहित घटनाको भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा ८ साउनमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको थियो। थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्न र भिडियो खिच्ने व्यक्तिलाई धरौटीमा छाड्न आदेश दिएको हो।
मुलुकी अपराध संहिता, २०७४ ले धामी–झाँक्री वा झारफुकका नाममा कसैमाथि अमानवीय, अपमानजनक वा हिंसात्मक व्यवहार गर्न निषेध गरेको छ। संहिताको दफा १६८ अनुसार झाँक्री वा झारफुकको बहानामा कसैलाई अमानवीय वा अपमानजनक व्यवहार गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। साथै, पीडितलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराउन सकिने प्रावधानसमेत छ।
त्यस्तै, झारफुकका नाममा हातपात, गालीगलौज वा अश्लील शब्द प्रयोग गरी कुटपिट तथा अभद्र व्यवहार गरेमा मुलुकी अपराध संहिताका सम्बन्धित व्यवस्थाअनुसार थप सजाय र जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।

Post a Comment