कविता : शीर्षक: “तिमि छेउ, म अर्थ” लेखक Dr. अपरिचित





आँखामा आँसु
भलै तिम्रै थिए,
तर डुबेको
म थिएँ नि…

आँसु गलाको बाटो हुँदै
भलै खस्यो तिम्रो,
तर रोक्ने साहस
मेरो छातीले गरेको थियो नि…

आवाज ननिकाली
मौनमै रोयो तिम्रो मन,
तर धड्कन ठोकिने
मेरो हृदयमै थियो नि…

तिमी गुराँसझैँ
भिरैमा फुले पनि,
सुगन्धमा
म नै हुनेछु…

धरतीले जति चक्कर लगाए पनि
मन्द–मन्द हावाझैँ
तिमीलाई छोइरहने
म नै हुनेछु…

तिमी चरीझैँ
उडेर गुडै छोडे पनि,
त्यो दोबाटो चौतारीमा
कुरिरहने
म नै हुनेछु…

त्यसैले प्रिया,
तिमी बादल, म वर्षा,
तिमी हाँसो, म हर्ष,
तिमी छेउ—
र म अर्थ।


Post a Comment

Previous Post Next Post