कलिलो उमेरमै कठोर जिम्मेवारी, विवाहपछि रोकिन्छ पढाइ

सुर्खेत : वीरेन्द्रनगर ५ की  कल्पनाको (नाम परिवर्तित) उमेर १४ वर्षको मात्र थियो । कक्षा ६ मा पढ्दै गरेकी उनी स‘गै पढ्ने साथीसँग प्रेममा परिन् । किशोराअवस्थाको प्रेम विवाहमा परिणत भयो । ८ कक्षाको परीक्षा दिएर विवाह गरेकी उनी त्यसपछि विद्यालय जान पाइनन् । घरको बुहारी भएको जिम्मेवारीसँगै विहेपछि छोरीहरुले पढ्नु हुँदैन भन्ने परिवार र समाजकै कारण उनको पढाइ रोकियो । एकातिर विवाहपछि विद्यालय यात्रामा पूर्णविराम लाग्यो । अर्कोतिर विवाहको पाँच दिनमै घर झगडा सुरु भयो । श्रीमान् र घरपरिवारसँग सम्बन्ध दरिलो हुन सकेन । त्यसपछि उनी माइतिमै फर्किइन् । ‘विवाह गरेको केहि दिनमै सासुससुराले नानाथरी भन्दै गालि गरे, घरबाट निस्किन बाध्य पारे, श्रीमान्ले पनि साथ नदिएपछि माइतमा बस्न थाले,’ उनी भन्छिन् ।

माइतीमा बस्न थालेपछि पनि उनलाई श्रीमान्ले फेरि फकाउँन थाले, साथमै बसौ भनेर । मायामा परेकी उनले श्रीमानको वचन नकार्न सकिनन् । श्रीमान्लाई पनि माइतीमै   बोलाइन् । सँगै बस्न थाले । माइतमा बस्दा केहि समय सम्बन्ध राम्रै भयो । उनी गर्भवती भइन् । छोरीलाई जन्म दिइन् । तर, पनि उनीहरुकोबीचको सम्बन्ध सुमधुर हुन सकेन् । झन–झन बिग्रदै गयो । ‘कहिँलेकाहिँ आउने अनी मानसिक र शारीरिक यातना दिन थाल्नुभयो,’ उनी भन्छिन् । गाडीको सहचालकको काम गर्ने उनका श्रीमान्ले उनलाई मात्र हैन छोरीलाई पनि राम्रो व्यवहार गर्दैनन् । अहिले उनी छोरी सहित माइत घरमा वृद्धआमासँग बस्छिन् । कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी उनीसँग न पढाई छ । न हातमा गतिलो सिप छ । ‘जिन्दगीमा पछुतोको भारि मात्र छ, बाँकी जीवन कसरी धान्ने भन्ने पिरले मात्र सताउँछ, आमाको भत्ताको साहरामा बसिरहेकी छु,’ उनी भन्छिन् ‘शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाह गर्दाको नजिता अहिले भोगिरहेको छु ।’

यस्तै वीरेन्द्रनगर–१ आपँडालीकी समि विकको (परिवर्तन नामथर) कक्षा १० मा पढ्दापढ्दै विवाह   भयो । त्यतिबेला उनी १४ वर्षकी थिइन् । भागेर विवाह गरेकी उनले १५ वर्षको कलिलै उमेरमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिइन् । त्यसपछि उनको दैनिकी नै फेरियो । घरको काम, छोराको हेरचाहा मै उनले दिन बिताइन् । विवाहपछि पारिवारिक जिम्मेवारीले थिचेपछि उनको पढाई नै  रोकियो । ‘घरको आर्थिक अवस्था राम्रो थिएन, विवाह गरेको केहि समयपछि बच्चा बस्यो, घरको सबै जिम्मेवारीले पढाई छुट्यो,’ उनी भन्छिन् । उतिबेला पढाई छोडेकोमा उनलाई पछुतो छ । पढाई मात्र होइन् सानै उमेरमा गरेको विवाहले उनलाई पीडा दिन्छ । ‘कलिलै उमेरमा विवाह भयो, घरायसी समस्या झेल्नुप¥यो, मानसिक र शारीरिक रुपले कमजोर महसुस हुन्छ,’ उनी भन्छिन् । उनका श्रीमान् ग्रिलमा मजदुरी गर्छन् । त्यसैबाट जेनतेन घरखर्च टरिरहेको छ । 

कलिलै उमेरमा विवाह गरेर कठो जिम्मेवारी सम्हाल्नु पर्दा पछुतो मान्नेहरुमध्येमा अर्का पात्र हुन्, यस्तै दैलेख दुल्लु नगरपालिका ११ का हेमन्त विष्ट । जसको विवाहपछि पढाई छुट्यो । परिवारको जिम्मेवारी उनको काँधमा आयो । त्यहि जिम्मेवारीले उनलाई परदेश पु¥यायो । परिवार पाल्नकै लागि उनी भारतको गुजरातमा मजदुरी गर्छन् । ‘कलिलो उमेरमा विवाह भयो, पढाई पनि छुट्यो, अहिले भारतको गुजरातमा मजदुरी गर्छु,’ उनी भन्छन् । 

यी केहि प्रतिनीधिमुलक पात्र हुन् । जो कलिलै उमेरमा भएको विवाहले पछुताईरहेका छन् । जसलाई बालविवाहले पारिवारिक, आर्थिक र शिक्षाको बञ्चितिकरणमा पिरोलिरहेको छन् । राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत डम्बरबहादुर रोकाय भन्छन् ‘कर्णालीमा सानै उमेरमा विवाहको ग्राफ बढ्दो छ ।’ सामाजिक सञ्जालको दुरुपयोगले विद्यार्थीहरु पढ्नको साटो बालबिवाह गर्न थालेका उनको भनाई छ । ‘पढ्ने उमेरका विवाह हुँदा शिक्षा क्षेत्रमा पनि ठुलो असर पर्न थालेको छ,’ उनले भने । विद्यालय छोड्ने दर बढ्नुमा बालविवाह पनि एक कारक भएको रोकाय बताउँछन् । ‘कानूनले बालविवाहलाई बन्देज लगाएपनि यो क्रम रोकिएको छैन, कर्णाली सरकारले बालबालिकाको संरक्षणका लागि नीति बनाएर उठाएका सवालहरु कार्यान्वयनमा ढिलाइ भएको छ, प्रभावकारी कार्यान्व्यन हुन सकेको छैन्,’ रोकाय भन्छन् । उनका अनुसार कर्णालीका चार जिल्लाका ४३ वटा वडामा बालविवाह मुक्त वडा घोषणा भएका   छन् । तर, घोषणामामात्रै सिमित बनेका छन् । ‘दैलेख, कालीकोट, जुम्ला र जाजरकोटका ४३ वडा बालबिवाह मुक्त वडा घोषणा भएका छन्, तर ती वडाहरु पुर्ण रुपमा बालबिवाह मुक्त हुन सकेको अवस्था देखिदैन्,’ परिषद्का समन्वय अधिकृत रोकाय भन्छन् । 

कर्णालीमा बालविवाह मुक्त घोषणा भएका वडाहरु :


बालविवाहका कारण धेरै बिद्यार्थीहरुले पढाई छोड्ने गरेको शिक्षाविद् आत्मराम भट्टराई बताउँछन् । ‘उनीहरुले विद्यालय छोड्नुको मुख्य कारण भनेको सानै उमेर विवाह अनी बच्चा जन्माउनु हो । छोरीबाट बुहारी भएपछि घरसंगै पढाई पुरा गर्न समस्या भएको देखिन्छ, बिवाहपछि छोरा र छोरी दुबै आर्थिक भारमा पर्ने भएकाले रोजगारीका लागि बाहिर जाने भएकाले पढाईमा समेत असर पर्ने गर्दछ,’ भट्टराई भन्छन् । शिक्षित परिवारमा बालबिवाह भयो भने पनि छोराछोरीलाई जर्र्वजस्ती पढाउन पठाएपनि ध्यान दिएर नपढ्दा शिक्षाको गुणस्तर घट्दै गएको उनको भनाई छ । 

कानूनलाई नै चुनौती

कानूनले बन्देज लगाएको बालविवाहले कलिलो हातहरुबाट कापीकलम छुट्छ, सिउँदोमा सिन्दुर थुपिरोन्छ । पढ्नुपर्ने उमेरमा परिवारमा जिम्मेवारीको भारी बोक्नुपर्छ । बालविवाहले कलिलो उमेरमा बालबालिकाको शिक्षा गुमेको पीडा एकातिर छ । अर्कोतिर यो कानूनलाई नै चुनौती दिएको छ । कानुनले उमेर नपुगी गरिने विवाहलाई अपराध मान्दछ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा भनिएको छ, विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । ऐनमा उल्लिखित प्रावधानविपरीत गरिएको विवाह स्वतः बदर हुने कानुनी व्यवस्था छ । त्यसबमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेसमेत ऐनमा छ । समाजमा कानूनी व्यवस्थालाई नै चुनौती दिदै बालबिवाह हुने क्रम रोकिएको छैन । कानूनले बालबिवाहलाई निषेध गरेतापनि समाजमा कानूनलाई छल्दै बालबिवाहहरु हुने गरेका छन । त्यसको पुष्टि प्रहरीसम्म पुगेको उजुरीले गर्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आव २०८०÷०८१ मा बालविवाह सम्वन्धी ४८ निवेदन परे । प्रहरीले ती निवेदनमा ४६ जना बालबालिकालाई अभिभावकको जिम्मा लगायो । बालविवाह सम्बन्धी जम्मा २ जना विरुद्धमात्रै जिल्ला अदालत सुर्खेतमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी निमित्त प्रमुख संगिता रसाइली बताउँछिन् ।

लामो समयदेखि बालविवाह न्यूनीकरणको मुद्धामा वकालत गर्दै आएकी अधिवक्ता गीता कोइरालाका अनुसार राजनीतिक संरक्षणकै कारण बालविवाह न्यूनीकरण हुन सकेको छैन् । ‘प्राय बालविवाहका घटनाहरु गाउँमै हुन्छन् तर कही कतै उजुरी पर्दैन’ उनी भन्छिन्, ‘बालविवाह बिरुद्ध उजुरी गर्नुको सट्टा राजनीतिक दलहरुले गुपचुपमै यस्ता घटनाहरु मिलाउँछन् ।’ बाहिर बालिविवाह बिरुद्धका चर्का भाषण गर्ने नेता कार्यकर्ताहरु नै घटनाहरु मिलाउन र कानुनी उपचार खोज्नबाट पन्छाउने गरेको उनको अनुभव छ । ‘कसैले बालविवाह बिरुद्ध उजुरी दिन खोज्यो भने नेताहरुले प्रहरीदेखि वकिलसम्मलाई धम्काउने गर्छन्’ उनी भन्छिन्, ‘बालविवाहका ९० प्रतिशत घटनाहरुलाई राजनीतिक संरक्षण दिइने गरिन्छ ।’ उनको अनुभवमा बालविवाह विरुद्धका अभियानहरु राजनीतिकर्मीहरुको अवरोधका कारण सफल हुन सकेका छैनन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कर्णालीमा अहिले पनि १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७ दशमलव ९ प्रतिशत छ । कर्णालीका दश जिल्लामध्ये सल्यानमा बालविवाहको दर सबैभन्दा उच्च छ । सोहि तथ्यांक भन्छ, सल्यानमा अहिले पनि ४३ प्रतिशतले बालविवाह हुन्छ । सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम हो । रुकुमपश्चिममा ४२ दशमलव ३ प्रतिशतले बालविवाह गर्ने गरेको जनगणनाको तथ्यांकले देखाएको छ । त्यसपछि क्रमशः जाजरकोटमा ४० दशमलव ८, सुर्खेतमा ३८ दशमलव ७, मुगुमा ३५ दशमलव ९, डोल्पामा ३२ दशमलव १, हुम्लामा ३३ दशमलव ७, जुम्लामा ३४ दशमलव ७, दैलेखमा ३५ दशमलव २ र कालीकोटमा २८ दशमलव १ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । 

किन बढिरहेको छ बालविवाह ?

बालविवाह विरुद्ध कानून छ । बालविवाह गर्नुहुँदैन भन्ने जानकारी पनि छ । यद्धपी बालविवाह गर्नेको संख्यामा कमी आउने सकेको छैन् । अधिकारकर्मी शर्मिला विसीको बुझाईमा बालबालिकाको मनोविज्ञान तथा सामाजिक सञ्जालको प्रयोगले यौनसम्पर्कको चाहाना हुँदा पनि बालविवाह हुने गरेको छ । ‘बालबालिकाले बढि चलाएको दिमागलाई रोक्ने, उनीहरुका कुरालाई नाईनास्ती गर्ने, पढ् मात्र भन्ने जस्ता कारणले बालबालिका खुलेर बाँच्नका लागि बालबिवाह गरेको देखिन्छ,’ बिसी भन्छिन् । उनका अनुसार बालविवाह बिरुद्धको अभियान सफल नहुनुमा राजनीतिक संरक्षण नै हो । अर्कोतर्फ गाउँसमाजले साथ छैन् । ‘अहिले पनि १६÷१७ वर्षकै विवाह गर्नेहरुको संख्या धेरै छ, तर बालविवाह गर्नु हुँदैन भनेर सम्झाउन खोज्दा राजनीतिक दलबाटै असहयोग हुन्छ,’ उनले भनिन् । बालकको तुलनामा बालविवाह गर्ने बालीकाहरु बढी भएको उनको तर्क छ । ‘केटाको उमेर २० वर्ष भएपनि केटीको उमेर १६÷१७ वर्ष हुन्छ तर यस्ता घटनाहरु गाउँमै गुपचुप राखिन्छ,’ उनले भनिन् ।

बाल अधिकारका लागि साझा अभियान कर्णालीका टेकराज आचार्यका अनुसार कर्णालीमा बालविवाह बढी हुनुमा गरिबी, अशिक्षा, जनचेतनाको कमी र देखासिखी हो । अन्य प्रदेशको तुलनामा कर्णालीमा बालविवाह धेरै हुने गरेको आचार्य बताउँछन् । कर्णालीमा बढ्दै गएको बालविवाहको ग्राफ घटाउन जनचेतनाको अभियानलाई तीनै तहका सरकारले घरपरिवार, विद्यालय तथा समुदाय तहमा व्यापक बनाएर लैजानु पर्ने उनको तर्क छ । ‘पहिला बुवाआमाले बालविवाह गरिदिन्थे अहिले बाल बालबालिकाले आफै विवाह गर्ने प्रवृत्ती बढेको छ,’ आचार्य भन्छन् । वर्तमान समयमा बालविवाह रोक्न अभिभावक भन्दा पनि बालबालिकालाई नै सचेत बनाउनुपर्ने उनको भनाई छ ।

कर्णाली प्रदेश प्रहरीको पञ्चवर्षिय तथ्यांक अनुसार :

 
स्रोत : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ।  

कर्णालीका ७ प्रतिशत बालबालिका विद्यालय बाहिर

कर्णाली प्रदेशमा ७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । यसको एक प्रमुख कारणका रुपमा देखिएको छ, बालविवाह पनि । कलिलो उमेरमै विवाहको बन्धनमा परेका बालबालिकाले शिक्षालाई निरन्तरता दिन सकेका छैनन् । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीका ७ दसमलब १ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन् । डोल्पा र जुम्लामा सबैभन्दा बढी १३.६ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । सुर्खेतमा सबैभन्दा कम ६.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । यसैगरि हुम्लामा ११.६ प्रतिशत, मुगुमा ९.३ प्रतिशत, दैलेखमा ६.९ प्रतिशत, सल्यानमा ६.८ प्रतिशत, जाजरकोटमा ६.७ प्रतिशत, कालिकोट र रुकुमपश्चिममा ६.२ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । बालिकाहरु घरपरिवार र सन्तानको जिम्मेवारीमा थिचिँदा पढाइ छुट्ने क्रम बढ्दो छ । 

सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारका अनुसार विद्यार्थीले विद्यालय छोड्नुको मुख्य कारणमा बसाइसराई, चेतनास्तरको कमि, बालबिवाह, अभिभावकलाई शिक्षाको कमि, अभिभाभवक विहिनता, सडक बालबालिका, दीर्घरोग हुन् । बालबालिकाले विवाहपछि विद्यालय छोड्ने गरेको उनको भनाई छ । ‘आमाबाबाको साथमा नहुने बालबालिका नै विद्यालय छोड्ने तथा विवाह गर्ने गरेको छन्, बालविवाह अन्त्यका लागि सरकार नै जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।

बालविवाह गरेकालाई शिक्षामा प्रेरित गर्न चुनौती बन्दै गएको दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले बताउँछन् । बालविवाह रोकथामका लागि विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर विद्यालय लक्षित जनचेतनामूलक गतिविधिहरु गर्दै आएको उनको भनाई छ । ‘बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नदिन र बालविवाहबाट हुने असरबारे जनचेतना फैलाउने काम गरिरहेका छौँ, यद्धपी बालविवाहको दर कमी नआउँदा शिक्षा समेत प्रभावित बन्न पुगेको छ,’ बिसी भन्छन् ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकामा विभिन्न परियोजना अन्र्तरगत बालबालिकालाई बालबिवाह सम्बन्धी कानुनी शिक्षा प्रदान गर्ने तथा सचेत बनाउने काम गर्दै आएको बताउँछिन् । ‘नगरपालिकाले बालविवाह गर्दा हुने असरबारे बालबालिकालाई जानकारी दिनुका साथै बालबिवाह र शिक्षा सम्बन्धी सचेत गराएका छौँ,’ हाम्रो प्रयास पूर्ण रुपमा सफल भने हुन सकेको छैन्,’ उनले भनिन्  । बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि कानुनी शिक्षाको जरुरी रहेको नगरप्रमुख ढकाल बताउँछिन् ।


 


Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali