सुर्खेत : सुर्खेतको विभिन्न स्थानमा अविरल वर्षाका कारण अवरुद्ध सडक खुलेको छ । लगातारको वर्षासँगै रत्नराजमार्गको भेरीगंगा नगरपालिका–२, पैसठ्ठीस्थित सडक खण्डमा आज बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
प्रहरीका अनुसार आज बिहान ६ बजेतिर माथिबाट ढुंगा र माटो खस्दा रत्नराजमार्गको पैसठ्ठी खण्ड अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी नायब उपरीक्षक प्रेम बहादुर गुरुङको कमान्डमा खटिएको सात जना प्रहरी टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो । जेसीबीको सहायताले पहिरो पन्छाउने काम सुरू गरिएको र बिहान ७ बजे बाटो एकतर्फी सञ्चालनमा आएको थियो भने ७ बजेसम्ममा सडक पूर्ण रूपमा सुचारु गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गुर्भाकोट नगरपालिका–१, काल्चेय घुमाउनेमा वर्षाको कारण दालमाया बुढाको तीन तले कच्ची घरको एक भाग भत्किएको छ । ३२ वर्षीया बुढाको ढुंगा–माटोले बनेको र जस्तापाताले छाएको पाँच कोठे घरको पूर्वतर्फको भित्तो भत्किएको हो । घटनाका बेला घरमा रहेका बुढा सहित उनका एक छोरा एक छोरीसहित चार जनाको परिवार माईतीघरमा गई सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
मानवीय वा चौपाय क्षति भने नभएको र प्रहरी चौकी मालारानीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर उद्धार र आवश्यक विवरण संकलन गरेको छ । प्रहरीले वर्षासँगै पहिरोको सम्भावना रहने भएकाले सतर्क रहन र जोखिमयुक्त स्थानमा बसोबास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Post a Comment