धर्ती भइन् व्याकुलः कविता

भारी बोझ कुकुर्मले हरघडी धर्ती भइन् व्याकुल ।
गर्छिन रोदन बृद्धिले मनुजको देखेर कोलाहल ।।
मायाको विउ रोपिने हृदयमा भोगेर आफन्तता ।
फैलीयो किन मर्ममा मनुजका बढ्दै गयो तिक्तता ।।

हाम्रा धर्म र संस्कृति एकल ति निर्मुल हुँदै गए ।
जोगाई भवका सबै निधिहरु होलासबैको जय ।।
अड्डा देखि समाज सम्म किन हो अन्याय वा शोषण ।
त्यस्ता ती कपटी र दुष्टजनको हुने सधै पोषण ।।


जुवा तास सधै समाति जनले दुव्र्यसनी खेलमा ।
आर्जेको धन सम्पत्ति जति थियो नासिन्छ लौ व्यर्थमा ।।
युवा वाल तथा ठिटा र तरुनो गर्छन् नसा सेवन ।
सारा भोक र रोगले हरघडी व्यर्थै गयो जिवन ।।


सारा ध्वंश विनासले भुवनमा अन्यौल वा छटपट्टी ।
बाच्ने मानिसको अमूल्य गतिलो पाइन्न है लौ बूटी ।।
मान्छेका विचको परस्पर सबै विभेद बेमेलमा ।
लागेको पनि देखिदैन जन लै सत्कर्मका खेलमा ।।


नारीको किन मान छैन जगमा हुन् सृष्टिकी मालिक ।
शक्तिको रुप हुन् तिनै भुवनकी साक्षतको सालिक ।।
सारा मानिसले उदार दिलले फैलाउदै निर्भय ।
इच्छा पूर्ण होला उनै जननिको होला सबैको जय ।।





     


लेखकको परिचय 
लेखक भुपेन्द्र प्रसाद उपाध्याय 
                                ठेगानाः दुल्लू नगरपालिका वडा नं. ५ रनुखाना दैलेख
       अध्यक्षः दुल्लू साहित्य प्रतिष्ठान दैलेख


Post a Comment

Previous Post Next Post